देशभरका नदीमा बाढी, रौतहट र सर्लाहीबासीलाई सुरक्षित स्थानमा जान आग्रह
काठमाडौं, २७ असार । केहि दिनदेखिको लगातारको वर्षाले देशभरका खोला, नदीहरुमा बाढी आएको छ । सक्रिय वर्षाका कारण खाला–नदीमा पानीको मात्र बढ्दा कटानको समस्या समेत बढिरहेको छ ।
हिजोदेखिकै भारी वर्षाका कारण बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको छ ।
शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।
महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बागमतीमा शुक्रबार पानीको सतह खतराको तह नजिकै पुग्ने देखिएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गर्दै त्यहाँका बासिन्दालाई मोबाइलमा सन्देश समेत पठाइसकेको जानकारी दिएका छन् ।
यता शुक्रबार रातु, खाँडु, लालबकैया, गागन, त्रियुगालगायत सबै चुरेबाट बहने खोलामा पानीको सहत उच्च भएकाले भोलिसम्मै सतर्कता अपनाउन बाढीविज्ञ पराजुलीले आग्रह गरेका छन् ।
झापा, मोरङ, सुनसरी तथा चितवनदेखि नवलपरासीसम्म चुरेबाट बहने खोलामा सतर्कताको आवश्यकता रहेको पनि उनले बताएका छन् । उनले भने, ‘सुरक्षित स्थानमा सर्न व्यवहारिक रुपमा कठिन त हुन्छ नै तर, पनि समयमै सतर्कता अपनाउने कुरालाई वेवास्ता गर्न हुँदैन ।’