प्रदेश २ को ८० प्रतिशत भू–भाग डुबानमा
जनकपुरधाम, २८ असार । प्रदेश २ को ८० प्रतिशत भू–भाग डुबानमा परेको छ । चार दिनदेखि निरन्तर राति ठूलो वर्षा र दिनभरको झरीले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुधामसहित ८ वटै जिल्ला डुबानमा परेको हो ।
प्रदेश नम्बर २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा सिरहा र सप्तरी जिल्लाका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानले गर्दा सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । भने प्रदेशसभा सचिवालयको सभाहल, सभामुख र उपसभामुखसहित कर्मचारीहरुको निवास जलमग्न छ ।
प्रदेशसभा नै जलमग्न भएपछि शनिबारका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ । यसअघि शुक्रबार नियमित पानी पर्दा समेत बैठक बसेको थियो ।
नेपाल प्रहरी प्रदेश २ का प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार निरन्तरको वर्षाले प्रदेश २ को ८० प्रतिशत भू–भागमा पानी जमेको छ । वर्षाले सबै भन्दा बढी रौतहट जिल्ला प्रभावित छ । त्यहाँका अधिकांश बस्ती डुवानमा परेको छ ।
चन्द्रनगर र गड्डाको प्रहरी चौकी बाहेक सुरक्षा निकायका सबै कार्यालय डुबानमा परेको छ । पानी अझै परिरहेको छ । प्रदेश २ को ठूला खोला कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ ।
यसैगरी धनुषा भएर बग्ने कमला नदीको बाँध फुटेपछि धनुषाको मलहनियाका १ सय ५० घर परिवार विस्थापित भएको छ । जनकनन्दनी गाउँपालिकाको सघारा नजिक रहेको बाँध फुटेको हो ।
मलहनिया गाउँनै डुवानमा परेपछि १ सय ५० घर परिवार पूर्ण रुपमा विस्थापित भएका हुन् । बाँध ३० मिटरसम्म फुटेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । उद्दार गरिएका ५ जना मध्ये ४ पुरुष र १ महिला छन् ।
धनुषाको दक्षिणी सीमाक्षेत्रमा अवस्थित जटही र भारतको पिप्रौन जोड्ने जलाद नदीको नवनिर्मित पुल छेउको माटो उप्केपछि पुलबाट हुने सम्पूर्ण आवागमन नै ठप्प भएको छ ।
यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित मुसहरी टोल पानीले डुबेको छ । मुसहरीमा रहेको ५० भन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विपन्न मुसहर समुदायका ४ दर्जन घर परिवारका १ सय जना भन्दा स्थानीयवासीलाई रामजानकी आधारभूत विद्यालयमा राखिएको वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले जनाए ।
उद्दार कार्य जारी
सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआइजी राजु अर्यालका अनुसार बाढीमा फसेका र डुवानले अलपत्र परेकाहरुको उद्दारलाई प्राथमिकता दिइएको छ ।
‘उच्च जोखिम क्षेत्रमा प्रहरीको संख्या थपिएको छ,’ डीआइजी अर्यालले भने, ‘उद्दार र पुनः स्थापनाका लागि २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ उनका अनुसार धनुषाको कमला नगरपालिकामा बाढीमा फसेका थप ४ जनालाई शनिबार बिहान सुरक्षित ठाउँमा सारिएको छ ।
प्रदेश २ को सरकारले बाढी र डुबान क्षेत्रको अवलोकन र फसेकाहरुको उद्दारका लागि संघीय सरकारसँग हेलिकोप्टर उपलब्ध गराउन माग गरेको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री कार्यालयसित हेलिकोप्टरको बन्दोबस्त मिलाइदिन आग्रह गरेको हो ।
बाढी र डुबानमा मृत्यु भएको परिवारलाई ३ लाख रुपैयाँ
यता, शनिबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले बाढी र डुबानमा मृत्यु भएको परिवारलाई ३ लाख रुपैयाँ र उद्दार, राहत र पुनः स्थापनाका लागि ८ वटै जिल्लालाई १०र१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठक लगत्तै मुख्यमन्त्री राउतले लगातारको वर्षाले प्रदेश २ को स्थिति भयावह बनेकोले यसलाई काबूमा ल्याउन सबैको सहयोगको आवश्यकता रहेको बताए । ‘उद्दार र राहतलाई प्राथमिकतामा राखेका छौं,’ मुख्यमन्त्री राउतले भने, ‘अन्य सबै बन्दोबस्त मिलाउन आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिइएको छ ।’