पम्फा भुसालको प्रस्ताव : खुल्ला सीमा बन्द गरौं, सीमा सुरक्षामा सेना खटाऔं
काठमाडौं, २५ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्नुपर्ने प्रस्ताव गर्दै सीमामा नेपाली सेनालाई खटाउनु पर्ने प्रस्ताव अगाडि सारेकी छन् ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था नभए पनि सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्ने बताइन् ।
‘बोर्डर बन्द गर्नुपर्छ, आवागमनमा निगरानी गर्नुपर्छ । नाका निश्चित गरौं । अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो हुन सक्छ,’ उनले अघि भनिन्, ‘सामान्य आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाउ तर खुला बोर्डर बन्द गर्नुपर्छ ।’
भारतीय किसानले नभई सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव अगाडि सारेकी छन् ।
‘नेपाली सेनालाई बोर्डर नजिक राखौं, ठेक्का अरुलाई दिए पनि हुन्छ,’ उनले भनिन् ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले भने सीमामा अपराध बढेको छ भन्दैमा सीमा शिल गर्ने भनेर दुई देशको सम्बन्ध बिगार्न नहुने बताएका छन् ।