अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुने सहमित भइसकेको छ : महरा
दाङ : उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले अब पार्टी एकता हुँदा अध्यक्ष र प्रधानमन्त्री फरक फरक व्यक्ति हुने सहमति भइसकेको बताएका छन् । उनले एमाले र माओवादी केन्द्रबिच पार्टी हुनेमा निश्चिन्त बन्न आग्रह गरे ।
मतदातालाई धन्यवाद दिन दाङमा आयोजित कार्यक्रममा उनले पार्टी एकता हुनेमा निश्चिन्त हुन सबैमा आग्रह गर्दै उनले पार्टी एकता सम्मानजक हुने बताए । “पार्टी एकता सम्मानजक हुन्छ, सम्मानजनक पार्टी एकता भनेको पदीय बाँडफाँड सम्मानजनक हुनु पनि हो,” उनले थपे, “अब पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक फरक व्यक्ति हुने दुबै दलबीच सहमति भइसकेको छ ।”
पार्टी एकता अपरिहार्य भन्दै उनले समाजवादी क्रान्ति पूरा गर्न एकता गर्न थालेको बताए । अब बाम सरकारको उद्देश्य समृद्धि र समाजवादको आधार तयार गर्नु रहेको उल्लेख गर्दै महराले एकताविरोधी कुरा कसैले गर्न नहुने बताए । दाङ प्रदेश राजधानी हुने कुरामा विश्वस्त हुन आग्रह गर्दै उनले नेपालगञ्जलाई आर्थिक क्षेत्र र बुटवल–भैहरहवालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अघि बढ्ने धारण राखे । ।