राष्ट्रिय प्रसारण लाइनमा जोडियो ९.९ मेगावाट विद्युत


६ आश्विन २०७६, सोमबार
kabeli

ताप्लेजुङ, ६ असोज । ताप्लेजुङ र पाँचथरको सीमाना भएर बग्ने इवाखोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाइड्रो पावर कम्पनीले निर्माण गरेको इवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.९ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

गएको साउनमा नै निर्माण सम्पन्न भएको आयोजनाबाट काबेली करिडोरअन्र्तगत पाँचथरको अमरपुरस्थित सवस्टेशनमार्फत असोजको शुरुबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको परियोजना निर्देशक कुबेरमणि नेपालले जानकारी दिए । निजी क्षेत्रको लगानीमा सम्पन्न भएको आयोजना २०७३ सालदेखि शुरु भएको थियो ।

दुई वर्षभित्रै अर्थात् २०७५ जेठमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुरु भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि बढेको बताइएको छ । कूल रु एक अर्ब ६० करोडको लागतमा सम्पन्न गर्ने योजना भए पनि पहिरो लगायतका कारण १५ प्रतिशत लगानी बढेको नेपालले बताए ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ मा पर्ने साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिकास्थित थर्पुको पुछारमा पर्ने काभ्रे दोभानमा हेडबक्स रहेको आयोजनाको विद्युत गृह भने थर्पुको दाहाल गाउँस्थित त्रिवेणीमा रहेको छ । आयोजनाको बाँधस्थलदेखि तीन किलोमिटर पाइपलाइनबाट विद्युत गृहमा पानी पुर्‍याइएको छ ।

आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीयको १० प्रतिशत लगानी रहेको यो आयोजनामा १५ प्रतिशत सर्वसाधारणको, २५ प्रतिशत रिडी हाइड्रो पावर कम्पनीको र ५० प्रतिशत भने सञ्चालक तथा संस्थापक शेयर धनीको लगानी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७