चिटिक्कै चिनियाँ राष्ट्रपति सी सवार हुने सडक (फोटोफिचर)
काठमाडौं, असोज २२ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा भ्रमण आउने भएका छन् । राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
यसअघि राष्ट्रपति सी को भ्रमण आउने शनिबार र आइतबार नै हुने भनिए पनि तालिका हेरफेर हुनसक्ने भन्दै सरकारले आधिकारिक रुपमा केही बताएको थिएन ।
२३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । सी सवार हुने काठमाडौंका सडकहरु चिटिक्क पारिरहेको छ । सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने चटारोसमेत सरकारलाई यहीबेलामा परेको छ । नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने सकिएको छ ।
यस्तै तिनकुनेस्थित खुल्ला मैदानलाई धमाधम बगैंचा बनाइदैंछ । उक्त मैदानको वरिपरी माटोले अग्लोभाग बनाई घास बिच्छ्याउने काम भइरहेको छ । जहाँ कल्की, पाम, धुपीका बिरुवा तथा विभिन्न प्रजातिका फूल रोपिएको छ ।
भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ । यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।
यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् ।
नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति सीको भ्रमणको समयमा प्रयोग हुने चारवटा बुलेट प्रुफ कार मंगलबार मात्रै चीनबाट ल्याइएको थियो । एयर चाइनाको कार्गो विमानमा ल्याइएका उक्त कार नेपालस्थित चिनियाँ दूतावासमा राखिएको स्रोतले जानकारी दिएको छ । नेपाल आउनु अघि राष्ट्रपति सी शुक्रबार भारत जानेछन् ।