कश्मिरको सैन्य पोष्टमा गोलाबारी, दुई भारतीय सैनिकको मृत्यु
काठमाडौं, ३ कार्तिक । जम्मू–कश्मिरको कुपवाडा जिल्लास्थित सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ ।
तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले बताएको छ । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको सैन्य अधिकारीहरुले जनाएका छन् ।
गत १५ सेप्टेम्बरमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यस वर्ष मात्र पाकिस्तानले दुई हजार ५० भन्दा बढी पटक युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका थिए । यसमा २१ नागरिकले ज्यान गुमाइसकेका छन् । युद्धविराम उल्लंघनमा आतंकवादीको घुसपैठ पनि सामेल छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले श्रीनगरमा अशान्ति फैलाउने प्रयास गरिरहेको छ । जसका लागि १० भन्दा बढी आतंकवादी श्रीनगर आसपास क्षेत्रमा लुकेर बसेका छन् । खुफिया सुत्रको हवाला दिँदै उनीहरु कारवाहीका लागि उपयुक्त समयको प्रतिक्षामा रहेको बताइएको छ । एजेन्सी