पद्मरत्न तुलाधरको हुलाक टिकट प्रकाशन गर्न सरकार सकारात्मक : पर्यटनमन्त्री


१५ कार्तिक २०७६, शुक्रबार
yogesh bhattarai

काठमाडाैं, १५ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी पद्मरत्न तुलाधरको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

पद्मरत्न लुमन्ति गुठीले शुक्रबार मन्त्रालयमा तुलाधरको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएको हो । भट्टराईले पद्मरत्न तुलाधरले भाषिक र जातीय आन्दोलनको नेतृत्व गरेको भन्दै उनको विचार र आन्दोलनलाई अघि बढाउनुपर्ने बताए ।

राष्ट्रिय पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा तुलाधरका लागि मत माग्दै हिँडेको उनले स्मरण गरे । मन्त्री भट्टराईले आफू मातहतको मन्त्रालयले पनि पद्मरत्न तुलाधरको हुलाक टिकट प्रकाशनका लागि सिफारिस गर्ने र सञ्चार मन्त्री पनि यस विषयमा सकारात्मक रहेको बताए ।

उनले पद्मरत्न तुलाधरका कृतिका साथै उनले प्रयोग गरेका सामानहरुलाई राष्ट्रिय अभिलेखालय र राष्ट्रिय संग्राहलयमा राख्न सकिने बताउँदै त्यसका लागि गुठीले सहयोग गर्न आग्रह गरे ।

यस्तै मन्त्री भट्टराईले पद्मरत्नको नाममा राष्ट्रिय पुरस्कार प्रदान गर्नेबारे मन्त्रिपरिषदमा प्रस्ताव लग्ने सम्बन्धमा छलफल गर्ने बताए । गुठीले पद्मरत्नको जीवनी पाठ्यपुस्तकमा राख्न, तुलाधरको नाममा सिक्का निकाल्न, उनको बारेमा किताब प्रकाशन गर्ने बारेमा पनि छलफल गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७