सिरिएमा युभेन्टस र इन्टरमिलानको जित
काठमाडौं, १७ कार्तिक । इटालियन सिरिएका शीर्ष दुई टिमले ११ औं चरणको खेलमा जित निकाल्न सफल भएका छन् । टुरिन डर्बी प्रतिष्पर्धामा युभेन्टसले घरेलु टोली टोरिनोलाई १–० ले हरायो ।
युभेन्टसको जितमा माथियास डि लाइटको ७०औं मिनेटमा गोल निर्णायक बन्यो । डिलाइटले गोञ्जालो हिग्वनको पासमा गोल गरेका थिए ।
जितसँगै युभेन्टसलले ११ खेलबाट २९ अंक बनाएको छ । टोरिनो भने समान खेलबाट ११ अंक बनाउँदै १३ औं स्थानमा छ ।
इन्टरमिलान पनि जित हात पार्दै दोस्रो स्थानको पकड बलियो बनाउन सफल भएको छ । इन्टरमिलानले बोलोग्नालाई २–१ ले हराउँदा रोमेलु लुकाकु नायक बन्न सफल भए ।
बोलोग्नाले लिएको एक गोलको अग्रतामा लुकाकुले दुई गोल गरेपछि इन्टरमिलनले युभेन्टससँगको दूरी एक कायम गर्न सफल भएको हो ।
लुकाकुले ७५औं मिनेटमा लुकाकुले कर्नरबाट गोल गर्दै इन्टरमिलानालाई खेलमा फर्काए । इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई लुकाकुले नै गोल गर्दै इन्टरमिलानालाई जित दिलाए । इन्टरमिलानले भने २८ अंक बनाएको छ ।
नापोलीलाई हराउँदै रोमा पनि तेस्रो स्थानमा उक्लिएको छ । आफ्नो मैदानमा रोमाले नापोलीलाई २–१ ले हरायो । रोमाले २२ अंक जोडेको छ । एजेन्सी