म्यानचेस्टर सिटीमाथि लिभरपुलको शानदार विजय
काठमाडौं, २५ कार्तिक । साविक विजेता म्यानचेस्टर सिटीमाथि ३–१ गोलअन्तरको शानदार जीत हासिल गर्दै लिभरपुलले इङलिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ ।
लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ८ अंकको स्पष्ट अग्रता समेत बनाएको छ । १२ खेलबाट उसको ३४ अंक भएको छ । समान खेलबाट दोस्रो र तेस्रो स्थानमा क्रमशस् लेस्टर सिटी र चेल्सी छन् । लिभरपुलसँग पराजित भएपछि सिटीले भने अंकतालिकाको दोस्रो स्थानमा उक्लने अवसर पनि गुमायो । १२ खेलबाट सिटीको २५ अंक छ ।
घरेलु मैदान एनफिल्ड रङ्गशालामा शुरुवातदेखि नै आक्रमक लिभरपुलले ६ मिनेटमै अग्रता बनाएको थियो । फाविन्होले बक्स बाहिरबाट गरेको सशक्त प्रहार सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले रोक्नै सकेनन् ।
१३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि सिटी थप दबाबमा देखियो । रक्षात्मक रुपमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको पेप ग्वार्डिओला प्रशिक्षित टिम सिटीविरुद्ध सलाहले रोवर्टसनको पासमा गोल गरेका थिए ।
पहिलो हाफमै दोहोरो अग्रता बनाएको लिभरपुलले ५३ हजार घरेलु समर्थक माझ दोस्रो हाफको सुरुमै तेस्रो गोल गरेको थियो । यसपल्ट साडियो मानेले गोल गरेका थिए । खेलको अन्त्यतिर म्यानचेस्टर सिटीले १ गोल फर्कायो । ७८ औं मिनेटमा सर्जियो एग्यूरोको क्रसमा बर्नाडो शिल्भाले गोल गरेका हुन् ।
खेलको अन्तिम १० मिनेट म्यानचेस्टर सिटीले लिभरपुलमाथि ब्यापक दबाब बनाएको थियो । लिभरपुलको चुस्त रक्षापंक्तिले त्यसको डटेर सामना ग¥यो ।