सुन्दर डाँडामा ‘डन’ को दोहन, डनले नै गराउँछन् सिडिओ र एसपीको सरुवा


१ माघ २०७६, बुधबार
krasher

काठमाडौं, १ माघ ।
१. गत वर्ष नुवाकोटका क्रसर व्यवसायीहरू गृह मन्त्रालय धाइरहेका थिए । आफूअनुकूलका एसपीलाई लैजान उनीहरूले सत्तारुढ नेकपा नेताहरूलाई भेटिरहेका थिए । आफूहरूको खानी र क्रसरलाई सहयोग गर्ने एसपी उनीहरू नुवाकोट लैजान चाहन्थे ।

उनीहरूकै रोजाइअनुसार प्रहरी प्रधान कार्यालयले एसपी कृष्णबहादुर पल्लीमगरलाई पठायो । पल्लीमगर पुगेपछि खानी र क्रसरको व्यवसाय चम्कियो, नदीको दोहन अनियन्त्रित भएको भन्दै स्थानीयको विरोध पनि चुलियो । नदीको दोहनमा प्रहरी नेतृत्वको मिलेमतोको खुलस्त भएपछि ६ महिनाभित्रै पल्लीमगरलाई झिकाउन प्रहरी प्रधान कार्यालय बाध्य भयो ।

२. क्रसरकै कारण गोरखामा सिडिओ र एसपीबीच विवाद
गत वर्ष गोरखामा बालुवा खानी तथा क्रसरकै कारण एसपी र सिडिओबीच विवाद भयो । खासमा खानी तथा क्रसर उद्योगीबाट प्राप्त आम्दानी बाँडफाँडमा उनीहरूबीच भएको विवाद बाहिर आएको थियो ।

सिडिओ नारायणप्रसाद भट्टराईले खानी सञ्चालकलाई संरक्षण गरेको आरोप एसपी विमल बस्नेतको थियो । सोही विवाद चर्किएपछि दुवै जनालाई गृह मन्त्रालयले सरुवा गरेको थियो । त्यसपछि पनि गोरखामा एक दर्जन खानीहरू अवैध रूपमा सञ्चालन भइरहेका छन् ।

३. क्रसरमा प्रहरीको सेयर, हेर्न जाँदा डिआइजीको मृत्यु
कतिपय जिल्लामा सिडिओ र प्रहरी अधिकारीहरूले नै आफन्तको नाममा क्रसर र खानीमा सेयर लिएका छन् । आफूले सेयर पाएको बालुवाखानीकै बारेमा बुझ्न जाँदा डिआइजी सुशील भण्डारी चढेको गाडी एक वर्षअघि मण्डन–देउपुरमा दुर्घटनाग्रस्त भएको थियो, जहाँ उनको समेत निधन भयो । त्यस्तै, डिएसपी सुकदेव खनाल काभ्रेमा कार्यरत रहँदा बेथानचोकस्थित एक क्रसर उद्योगको सेयर श्रीमतीको नाममा लिएका थिए ।

हरिया डाँडा तहसनहस, गाउँका गाउँ उठिवास
काभ्रेको पनौती नगरपालिका–२ रोसी खोलाकी ५७ वर्षीया शारदा थापा गत २७ असारको दिउँसो आँगनमा थिइन् । निरन्तरको वर्षा रोकिएको एक दिन मात्रै भएको थियो । डायमन्ड रोडा तथा ढुंगा खानी उद्योगको एक्साभेटरले आधा खनेको घरमाथिको बाघवीर डाँडोबाट ढुंगाको पहिरो खस्न थाल्यो । हेर्दाहेर्दै घरको आधा भाग पहिरोले बगाएर रोसी खोलाको बगरमा र्पुयायो । दिउँसो भएकाले उनी बल्लबल्ल बाँचिन् ।

‘भिर भत्किँदा डाँडो नै थर्किने गरी आएको आवाजले मुटु नै फुट्लाझैं भयो । घर पहिरोले लग्यो, दिउँसो भएकाले धन्न बाँचेँ । नत्र मेरो त्यहीँ चिहान हुने थियो,’ शारदाले मंगलबार सात महिनाअघिको कहालीलाग्दो घटना सुनाइन् ।

दुई वर्षअघि डायमन्ड रोडा उद्योगले सिंगै बाघवीर डाँडो किन्यो । लगत्तै सञ्चालक दीपक भण्डारीले घरसहितको जग्गा बेच्न थापालाई दबाब दिन थाले, तर उनले मानिनन् । त्यसपछि भण्डारीले एक्साभेटर ल्याएर घरमाथिको डाँडो धमाधम खन्न थाले । त्यसको कम्पनले खल्बलिएको भिर लगातारको वर्षाले २७ असारमा भत्कियो ।

केही महिनापछि भण्डारी फेरि थापाकहाँ आए र जग्गा बेच्न पुनः धम्क्याउन थाले । ज्यान नै जोखिममा राखेर अब यहाँ बस्न उनलाई आँट आएन । केही सीप नलागेपछि बारी र घरसहितको साढे ६ रोपनी जग्गा ७५ लाख रुपैयाँमा बेचिन् । त्यो रकमले बनेपामा तीन आना जग्गा किनिन् । अहिले उनीसँग भएको सम्पत्ति त्यत्ति हो । ‘फाली बिगारेर सियो बनाएझैं भएको छ । तीन भाइ छोरा छन् । यति सम्पत्तिले के गर्ने हुन् थाहा छैन । खानी उद्योगले मेरो त घरबार नै उठायो,’ उनले भनिन् ।

पनौती–२ की गोमा भुजेलको घर रोसी खोलाको बगरभन्दा झन्डै पाँच सय मिटरमाथि बाघवीर डाँडाको पाखोमा छ । घरको करिब सय मिटर तल काठमाडौं रोडा तथा ढुंगा खानी उद्योगका १० भन्दा धेरै एक्साभेटर चलिरहेका छन् । घरको ठीक दायाँतर्फको पहाड भत्किसकेको छ । बायाँतर्फ भने जग्गा र केही घर बाँकी छन् । ७२ वर्षीया भुजेल धमाधम भत्काइँदै गरेको पाखो हेरर टोलाइरहेकी थिइन् । ‘सम्पत्तिको नाममा यही घरबारी हो ।

खानी उद्योगले आजै जा, भोलि नै जा भन्छ । यो बुढेसकालमा कहाँ जाने ? घरभन्दा तल र दायाँतर्फको पाखो भत्काइसक्यो । अब त घर नै कतिखेर लड्छ भन्ने भइसक्यो,’ उनले पीडा सुनाइन् । स्थानीयलाई जग्गा बेच्न दबाब दिइरहेको उद्योगले चलेको रेट पनि दिन मान्दैन, बाध्य बनाएर कौडीको भाउमा किन्न खोज्छ ।

भुजेलका अनुसार काठमाडौं रोडा तथा ढुंगा खानी उद्योग अवैध हो । जाहेरी लिएर उनी वडा कार्यालय पनि पुगिसकिन । तर, सुनुवाइ नै भएन । ‘विनादर्ता यसले दुई वर्षदेखि डाँडो खनेको छ । खोला पनि मिचेको छ । जाहेरी लिएर वडा कार्यालय पुगेर हारगुहार गरेँ, तर सुनुवाइ भएन । अब म कहाँ जाऊँ ?’ उनले भनिन् ।

बाघवीर डाँडामा दुई वर्षअघिसम्म ठकुरी र तामाङ समुदायका छुट्टाछुट्टै दुईवटा बस्ती थिए । रातारात खोलिएका क्रसर र ढुंगा खानी उद्योगले सुन्दर डाँडोलाई तहसनहस मात्रै बनाएन, बस्ती समेत विस्थापित गराए । कतिपय घर र गोठका भग्नावशेष पाखोमा अहिले पनि देखिन्छन् । क्रसर उद्योगहरूले स्थानीयलाई धम्क्याएर प्रतिरोपनी ५५ हजारमा जग्गा बेच्न लगाएर गाउँ छाड्न बाध्य बनाए ।

‘ठकुरी र तामाङ बस्तीका गरी यो डाँडोमा मात्रै १५ भन्दा धेरै घर थिए । क्रसर उद्योगकै कारण उनीहरू गाउँ छाड्न बाध्य भए । हामी बाँकी रहेकालाई पनि सस्तोमा घरजग्गा बेच्न उद्योगहरूले दबाब दिइरहेका छन् । कहाँ जाने हो केही ठेगान छैन,’ ठकुरी गाउँमा भेटिएकी रीता भुजेलले भनिन् ।

बाघवीर डाँडोपारिको पनौती–१२ स्थित गोठखोला डाँडाको न्यौपाने गाउँको पनि ढुंगा तथा खानी उद्योगहरूकै कारण उठिवास भयो । पाँच वर्षअघि यो डाँडोका तीन सय ८५ रोपनी जग्गा भालेस्वर खानी उद्योगले किन्यो । फेदमा एक्साभेटर लगाएर खन्न सुरु गर्‍यो । डाँडामाथि रहेको न्यौपाने गाउँमा भासिने त्रास बढ्दै गयो ।

तर, फेद खन्ने क्रम रोकिएन । केही सीप नलागेपछि स्थानीयले गत वर्ष नै गाउँ छाडे । ‘क्रसर तथा ढुंगा खानी उद्योगको दबाबकै कारण घरबारी बेच्यौँ । हाम्रो त गाउँ नै विस्थापित भयो । अब पनि कति गाउँ विस्थापित हुने हो केही ठेगान छैन । यस्ता क्रसर उद्योग खुल्ने क्रम रोकिएका छैनन्, झन् बढेका छन्,’ गोठखोलामा भेटिएका रामसुन्दर केसीले भने ।

पनौती–१२ का वडाध्यक्ष ईश्वरराज जंगमले क्रसर तथा खानी उद्योगका कारण गाउँ नै विस्थापित भएको बताए । ‘मेरो वडामा म निर्वाचित हुनुअघि नै दर्ता भएका ६ वटा क्रसर उद्योग छन् । उनीहरूले वातावरण विनाश मात्रै होइन, सिंगै गाउँ समेत विस्थापित गरेका छन् । यो खेदजनक छ,’ उनले भने, ‘मैले सधैँ विरोध गर्दै आएको छु, तर मेरो मात्रै विरोधले केही नहुँदोरहेछ ।’

प्रदेश २ का मुख्यमन्त्रीको आरोप, डिआइजीको जवाफ
क्रसर तथा खानी उद्योगमा प्रहरीकै मिलेमतो छ : लालबाबु राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरीकै मिलेमतोमा गिटी, बालुवाको तस्करी भइरहेको आरोप लगाएका छन् । मंगलबार जनकपुरमा आयोजित गोष्ठीमा बोल्दै उनले चुरे क्षेत्रको दोहन भइरहेको र त्यसमा प्रहरीले नै सहयोग गरेको दाबी गरे ।

प्रहरी प्रदेश सरकारको मातहत नहुँदा रोक्न नसकिएको उनको भनाइ छ । नीति अनुसन्धान प्रतिष्ठान र परराष्ट्र मामिला अध्यक्ष प्रतिष्ठानले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
क्रसर उद्योग राजनीतिक संरक्षणमा चलेका छन् : प्रद्युम्न कार्की, डिआइजी
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले मुख्यमन्त्रीको आरोप आधारविहीन भएको बताए । क्रसर तथा खानीको नियमनमा प्रहरीको कुनै भूमिका नभएको बरु धेरै सांसद र मेयरहरूको संरक्षण रहेको दाबी गरे ।

‘स्थानीय तहले लाइसेन्स दिने, जिल्ला समन्वय समितिले अनुगमन गर्ने,’ उनी भन्छन्, ‘अनि दोषचाहिँ प्रहरीलाई लगाउने ? हामीलाई अधिकार दिनोस्, सबै अवैध क्रसरहरू बन्द गरिदिन्छौं । तर, अवैध क्रसर बन्द गराउन खोज्दा उल्टो नेताहरूबाट दबाब आउने गरेको अनुभव हामीलाई छ । नेताको संरक्षण विना यी उद्योग चलेका छैनन् ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७