तेस्रो दिन पनि कांग्रेसद्वारा संसद अवरुद्ध, कांग्रेस सांसदलाई बोल्न नदिई वैठक स्थगित
काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो दिन आज (आइतबार) पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
आइतबार दिउँसो १.४५ बजेबाट शुरु भएको बैठक प्रतिनिधिसभाको बैठक सभामुखले आरम्भ भएको घोषणा गर्न साथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि कांग्रेसले सडक र सदनबाट विरोध गर्दै आएको छ ।
आइतबारको बैठकको प्रारम्भमै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले बोल्न खोजे पनि सभामुख सापकोटाले उनलाई बोल्ने समय नै नदिई संसद बैठक स्थगित गरेका हुन् ।
सभामुखले कांग्रेसलाई यसअघिका दुई बैठकमा एउटै विषमा बोल्न दिएको भन्दै आइतबारको बैठकमा आफूले बोल्ने अनुमति नदिएको बताएका थिए । संसदको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुख सापकोटाले सदनलाई जानकारी दिए ।