केपी ओली थाइल्याण्ड उड्ना साथ प्रचण्डले किन भेटे मोहनविक्रम सिंहलाई ?
काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भटवार्ता भएको छ ।
पार्टी एकताका लागि कसरत गरेर एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड उड्ना साथ वाम गठबन्धन विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा दाहाल–सिंहबीच छलफल भएको छ ।
अध्यक्ष दाहाल र सिंहलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेका थिए । भेटमा महामन्त्री सिंह र दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो । भेटमा दुवै नेता राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् । एमाले अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड गए लगत्तै प्रचण्ड र नेता सिंहबीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवम् नेपालको कम्युनिष्ट आन्दोलनका सम्मानित व्यक्तित्व हुन् । भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका छन् ।