कोरोनाबाट बेलायतमा ४९ वर्षीय गुरुङको मृत्यु, बेलायतमा हालसम्म १९ नेपालीको मृत्यु
लण्डन, १० बैसाख । विश्वव्यापी कोरोना (कोभीड–१९) भाइरस संक्रमणबाट बेलायतमा अर्का एक नेपालीको ज्यान गएको छ ।
बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’ मा उपचारका क्रममा गत आइतबार साँझ ज्यान गएको हो । कास्की, यान्जाकोट घर भएका मृतक गुरुङ हङकङ हुँदै बेलायत आएका हुन् । बेलायतमा आफ्नो परिवारका साथ बस्दै आएका मृतक गुरुङका श्रीमती र एक छोरा छन् ।
ढाडको समस्याबाट पीडित गुरुङ्गको गत डिसेम्बरमा काठमाण्डौस्थित ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
त्यसपछि केहि समय आराम गरेर फेब्रुअरीको पहिलो साता उनी बेलायत एका थिए । ढाडको समस्या ठिक नभएकाले नियमित औषधिको सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अप्रिल १३ मा अस्पताल भर्ना गरिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गरिएका गुरुङको दुई दिनपछि मृत्यु भएको थियो । दुई दिनपछि अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’ मा उनलाई निमोनिया र कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ तमु समाजका अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
मृतक गुरुङ रेडिंग तमु समाजका आजीवन सदस्य समेत रहेका थिए । बेलायतमा कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या १९ जना पुगिसकेको छ । मृत्यु हुनेहरुमा करिब एक दर्जन जति पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।