राजनीतिको आडमा सरकारी जमिन अतिक्रमण


३१ जेष्ठ २०७७, शनिबार
Health Office Bajura

बाजुरा, ३१ जेठ । बाजुराको सदरमुकाम मार्तडीस्थित स्वास्थ्य कार्यालयको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन् ।

जिल्ला वन डिभिजन कार्यालयको माथिपट्टिको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको देखिएको छ । शक्तिको आडमा जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा सरकारी जमिन अतिक्रमित हुँदै गएको छ ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालय हुँदा अस्पतालले केही भाडा उठाउने गरेको भए पनि स्वास्थ्य कार्यालय भइसकेपछि भाडा उठाउन नसकिएको र अतिक्रमण हटाउन आग्रह गर्दा नमानेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

पूरै जग्गा स्थानीयवासीले अतिक्रमण गरेको र हटाउन लगाउँदा हटाउँछु भने पनि नहटाएको जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । स्वास्थ्य कार्यालयको भवनको बोलपत्र समेत भइसकेको छ ।

‘सरकारी जमिनमा कुनै पनि व्यक्तिले केही गर्न पाउदैनन्, त्यहाँ निजी घर बनाउँदा सरकारी जमिनको स्वरुप बिगारिएको छ’, कार्यालय प्रमुख पन्तले भने, ‘को मान्छे कुन पार्टीको आफूलाई मतलव नहुने तर सरकारी जमिन कसैले प्रयोग गर्न पाउँदैन ।’

स्वास्थ्य कार्यालय बाजुराको अतिक्रमण भएको जमिनको विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइसकेको र केही दिनमा सर्वपक्षीय सर्वदलीय बैठक बसाउने तयारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७