सिन्धुपाल्चोक बाढी : डेढ वर्षीया छोरी र बाबुको शव भेटियो, यी हुन् घाइते र बेपत्ता (सूचीसहित)
प्रदेशमन्त्री दुलाल हेलिकोप्टरसहित घटनास्थलमा
काठमाडौं, २५ असार । गए रातिको भारी वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा बाढी–पहिरो जाँदा ठूलो जनधनको क्षति पुगेको छ ।
बाह्रबिसेमा पहिरोमा परेर डेढ वर्षीया छोरी निउना बस्नेत र उनका बुबा २० वर्षीय निकेश बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको शवको आज विहान सनाखत भएको हो ।
बाह्रबिसेमा चार र भोटेकोशीमा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । सिन्धुपाल्चोक माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ घाइते छन् । भोटेकोशीमा फुर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते छन् ।
भोटेकोशी–५ का दोर्जे तामाङ, लाक्पा तामाङ, मन्जु तामाङ, पासाङ नुर्वु तामाङ, चायल तामाङ बेपत्ता छन् । बाह्रबिसे–५ का १६ जना बेपत्ता छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा भीम बहादुर वाइवा, चिनमाया वाइवा, लिलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा र जनकबहादुर थिङ छन् ।
यस्तै सबिना तामाङ, आकास तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ ।
बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर
सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ ।
मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौं लगिने जानकारी उनले दिए । सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।