शिल्पासँग चाँडै विवाह गर्दैछु : निर्माता छवी ओझा
नेपालगञ्ज, १५ माघ : चर्चित फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवाहको कुरा चलेको लामो समय भईसक्यो । उनीहरुको वैवाहिक चर्चा भएको लामो समय बितेपछि शिल्पा–छवी साँच्चै विवाहको मुडमा देखिएका छन् । उनीहरुको चलचित्र ‘मंगलम’ को रिलिजपछि विवाह हुने भएको छ । रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको फिल्म क्षेत्र मात्रै नभई जीवनमा समेत नजिकिएका थिए ।
नयाँ फिल्म ‘मंगलम्’ को प्रचार–प्रसारका क्रममा नेपालगञ्ज पुगेका ओझाले फिल्म रिलिजपछि वैवाहिक जीवनमा बाँधिने बताएका छन् ।
शिल्पासँग फिल्म क्षेत्रमा सफलता पाएपछि व्यक्तिगत जीवन समेत सफल हुने निश्चित गरी विवाह गर्ने योजनामा पक्का भएको निर्माता ओझाले सञ्चारकर्मीसँग बताएका छन् । तपाईंहरुको सम्बन्धको गरिने चर्चा औपचारिक रुपमा कहिले जोडिन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्माता ओझाले भने–‘हामी एउटै क्षेत्रमा सँगै काम गरिराखेका छौं, यसमा नाम जोडेर चर्चा हुनु नौलो होइन ।
अहिले फिल्म रिलिजकै तयारीमा व्यस्त छौं, फिल्मको काम सकिएपछि विवाह गर्ने योजनामा छौं ।’ उनले शिल्पा र आफ्नो पारिवारिक रुपमा कुरा पक्का भइसकेकाले छिट्टै वैवाहिक जीवनमा प्रवेश गर्ने बताए । छविले विवाहको कुरा गरिरहँदा शिल्पाले पनि आउँदो बैशाखसम्म विवाहमा बाँधिने सहमति जनाएकी छन् । शिल्पा पोखरेलको मंगलम् फागुन २५ मा देशैभर प्रदर्शनमा आउँदैछ ।