बागमती प्रदेशकै राजधानीमा तुइनबाट लडेर वृद्धको मृत्यु

घोषणा गरेर मात्रै तुइन हट्दैन : सविन न्यौपाने, वडाध्यक्ष


७ श्रावण २०७७, बुधबार
tuen2.jpg .2020 07 22

हेटौंडा, ७ साउन । सरकारले चालू आर्थिक वर्ष ७७–७८ को नीति तथा कार्यक्रममा देशभर तुइन विस्थापित भएको घोषणा गरेको थियो ।

प्रधानमन्त्री केपी ओली स्वयंले पनि तुइन विस्थापित गरेर आफ्नो सरकारले ठूलो उपलब्धि हासिल गरेको पटक–पटक बताएका थिए । तर, मंगलबार साँझ बागमती प्रदेशको राजधानीका बासिन्दाले तुइनबाट लडेर ज्यान गुमाएका छन् ।

तीन दिनदेखिको अविरल वर्षासँगै बाढी आएपछि हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीले राप्ती खोला तर्न सकेनन् । खोलो तरेर पश्चिमको लालझाडी जान नसकेपछि उनी चौकीटोल र मैनटार जोड्ने तुइनको सहारा लिन पुगेका थिए । तर, तुइन चढ्न खोज्दा लडेर पराजुलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपानेका अनुसार पराजुली खोलापारी लालझाडीमा रहेको खेतबारीमा जान लागेका थिए । तुइन चढ्न खोज्दा चिप्लिएर करिब १५ फिट तल खसेका उनी ढुंगामा बजारिएर गम्भीर घाइते भएका थिए ।

सेनाको एम्बुलेन्समा राखेर उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइयो । तर, त्यहाँ उपचार हुन सकेन । त्यसपछि चुरेहिल अस्पताल लगियो । त्यहाँ पनि सम्भव नभएपछि भरतपुर लैजाने क्रममा पराजुलीको मृत्यु भएको वडाध्यक्ष न्यौपानेले बताए ।

चौकीटोलका बासिन्दाको खेत खोलापारि लालझाडीमा पनि छ । उनीहरू दैनिक घर–खेत गर्छन् । हिउँदमा पानी कम हुँदा खोला तरेर ओहोरदोहोर गर्ने स्थानीय वर्षातमा भने तुइनकै भर पर्छन् । लालझाडीसँगै राप्तीपारी हेटौँडा उपमहानगरपालिका– १ कै मैनटार र नकौली गाउँ पनि छन् ।

वडाध्यक्ष न्यौपानेका अनुसार तीनवटै गाउँमा गरेर झन्डै आठ सय परिवार त्यहाँ बस्छन् । उनीहरू दैनिकजसो खोला वारिपारी गर्छन् । ‘वर्षातमा खोला तर्न सकिँदैन, तीन दशकदेखि यहाँका बासिन्दा तुइनकै भर परिरहेका छन्,’ वडाध्यक्ष न्यौपानेले भने । अझ विद्यालय आवतजावत गर्न बालबालिकाले पनि यही तुइन चढ्नुपर्छ ।

त्रिभुवन राजपथबाट मैनटारलाई जोड्न ०४८ मा तुइन सञ्चालनमा ल्याइएको हो । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले मैनटारमा एंगल स्टेसनमा आवतजावत गर्न र स्थानीय बासिन्दालाई सहज हुने उद्देश्यले यो तुइन निर्माण गरेको थियो । त्यसयता वर्षातमा यहाँका बासिन्दा नियमित तुइनकै सहारा लिइरहेका छन् ।

हेटौँडा–१ का वडाध्यक्ष न्यौपानेले पक्की पुल निर्माण नभएसम्म तुइन हटाउन नसकिने बताए । ‘सरकारले घोषणा गर्दैमा तुइन हट्दैन । जनताले सास्ती भोग्नुपरेको पीडा हामीले महसुस गरेका छौँ, तुइन हटाएर कसरी खोला तर्ने ?’ उनले भने ।

बजेट अभावमा वडा कार्यालय र उपमहानगरपालिकाले पक्की पुल निर्माण गर्न नसकेको वडाध्यक्ष न्यौपानेले बताए । यसका लागि प्रदेश तथा संघीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । पुल निर्माणका लागि प्रदेश सरकारले गत आर्थिक वर्षको योजनामा समावेश गरेको थियो । भौतिक पूर्वाधार मन्त्रालयले डिजाइन पनि गरेको थियो । तर, अहिलेसम्म पुल निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

घोषणा गरेर मात्रै तुइन हट्दैन : सविन न्यौपाने, वडाध्यक्ष
सरकारले घोषणा गर्दैमा तुइन हट्दैन । जनताले सास्ती भोग्नुपरेको पीडा हामीले महसुस गरेका छौँ, तुइन हटाएर कसरी खोला तर्ने ? यो क्षेत्रका बासिन्दाले बर्खामा राप्ती खोला तर्न तुइनको भर पर्नुपर्छ ।

पक्की पुल निर्माण नगरेसम्म तुइन विस्थापित हुँदैन । बजेट अभावमा वडा कार्यालय र उपमहानगरपालिकाले पक्की पुल निर्माण गर्न सकेको छैन । यसका लागि प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्‍यो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७