दुईटा मौसमी प्रणालीका कारण आजदेखि भारी बर्षा, कहाँ–कहाँ छ बढी जोखिम ?
यस वर्षको बाढी, पहिरो र डुबानबाट हालसम्म १२८ जनाको मृत्यु, ५१ जना बेपत्ता
काठमाडौं, १२ साउन । नेपालमा केहि दिनदेखि अलि मत्थर भएको मनसुन फेरि सक्रिय बन्न थालेको छ ।
आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले अबको तीन–चार दिन देशका धेरै भू–भागमा ठूलो पानी पर्ने मौसमविदले जानकारी दिएका छन् ।
आज बेलुकादेखि चार दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कहाँ–कहाँ छ बढी जोखिम
मुख्य गरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश–१ र २ का थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । भोलिदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश–५ का मध्य पहाडी भू–भाग भई बग्ने नदीमा जलसतह बढ्ने सम्भावना छ । ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
प्रदेश–१, वाग्मती प्रदेशका मध्य पहाडी भू–भाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भू–भाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै प्रदेश–१, २, ५ र सुदूरपश्चिम प्रदेशको चुरे भई बग्ने केही मझौला तथा साना खोला नालामा समेत बहाव बढ्ने र कुनै ठाउँमा आकस्मिक बहाव आउने, तराई र चुरे क्षेत्रका होचा क्षेत्र डुबानमा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मौसमको अवस्थाबारे जानकारी लिनु परेमा ४११३१९१ र बाढीका लागि ११५५ नम्बरमा सम्र्पक गर्न भनिएको छ ।
जोखिम क्षेत्रमा नबस्न आग्रह
बाढी पहिरोको जोखिम रहेकाले सुरक्षित रहन र जोखिम क्षेत्रमा नबस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । साथै विपद्बाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा परिपत्र गरेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका छन् ।
जोखिम क्षेत्र पहिचान भएको ठाउँमा सुरक्षा टोली तयारीमा राख्न र आवश्यक उद्धार तथा राहत सामग्री बन्दोबस्त गर्न भनिएको उनको भनाइ छ ।
यसअघि उच्च तयारी हुँदाहुँदै पनि पहिरोका कारण क्षति भएको छ । यस वर्ष पहिरोका कारण सबैभन्दा बढी १२८ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परी ५१ जना बेपत्ता रहेको सरकारको तथ्याङ्क छ ।
प्रि–मनसुनको समयदेखि नै ठूलो पानी परेकाले यस पटक औसतभन्दा बढी वर्षा हुँदा जमीन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर जमिनको भित्री भाग चलायमान गराइसकेकाले सामान्य पानी पर्दा समेत सचेत हुनुपर्ने मौसमविद्को भनाइ छ ।
यस्तो रहने छ अबको तीन दिनको मौसम