आज थपिएका ४१८ संक्रमितमध्ये कुन जिल्लाका कति ?


१९ श्रावण २०७७, सोमबार
korona 1

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देशभर संक्रमण पुष्टि भएका ४१८ जनामध्ये काठमाडौं उपत्यकाका ५१ जना रहेका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

आज थपिएका ५१ जनामासहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या पुग्यो ६८५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ४३ जना, ललितपुरका ३ जना र भक्तपुरका ५ जनामा संक्रमण देखिएको छ ।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, सैनिक अस्पताल महाराजगञ्ज र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन् । योसँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४९३ जना, ललितपुरमा १०८ जना र भक्तपुरमा ६४ जना कोरोना संक्रमित पुगेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १४ हजार नौ सय ६१ पुगेको छ । अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेका छन् ।

आज (सोमबार) कुन जिल्लामा कति संक्रमित थपिए ?
विभिन्न प्रयोगशालाअनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा सुनसरीका ५ जना, कोशी अञ्चल अस्पताल विराटनगरमा झापाका १ जना, मोरंगका ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४ जना र मोरंगका ९ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा सिरहाका ३ जना र सप्तरीका ५१ जनामा कोरोना संक्रमण पाइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका १ जना, महोत्तरीका ३० जना र धनुषाका ३० जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा पनि बाराका ३ जना र पर्साका ७१ जनामा कोरोना भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, काठमाडौंका ८ जना, कैलालीका ३५ जना, कञ्चनपुरका ८ जना र रसुवाका १ जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा बाराका १ जना, काठमाडौंका १७ जना र रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ । पाटन अस्पताल प्रयोगशाला ललितपुरमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जना, महोत्तरीका १ जना, चितवनका १ जना र गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वीर अस्पताल प्रयोगशाला काठमाडौंमा सर्लाहीका १ जना र काठमाडौंका २ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा काठमाडौंका १ जना र दोलखाका १ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २ जनामा तथा स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका ५ जना र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको छ

वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका ३ जना, पोखरा प्रयोगशालामा कास्कीका ८ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा स्यांजाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका १ जनामा कोरोना भेटिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ८ जना, बर्दियाका १ जना, दाङका १ जना र कैलालीका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा सुर्खेतका २ जना, दैलेख पीसीआर प्रयोगशालामा दैलेखका २ जना, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा रुकुमपश्चिमका २ जना, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कञ्चनपुरका ८ जना, कैलालीका ३१ जना र अछामका ४ जनामा कोरोना भेटिएको छ ।

नेपालमा हालसम्म ५७ जना (०.२८ प्रतिशत) को कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म ३ लाख ९८ हजार ९ सय ७ (१.३ प्रतिशत) जनाको आरटी पीसीआर नमूना संकलन भएको छ । त्यसमध्ये २० हजार ७ सय ५० मा कोरोना पोजिटिभ देखिएको छ ।
त्यस्तै सक्रिय संक्रमित ५ हजार ७ सय ३२ (२७.६ प्रतिशत) जना रहेका छन । हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज (७२.१ प्रतिशत) भएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७