तीज रहर कि बाध्यता ?


३२ श्रावण २०७७, आईतवार
sabita

म गाडीमा चढें । गाडी खाली भएकाले सिटमै बसेर बाहिरी वातावरण अवलोकन गर्ने अवसर मिल्यो । असाध्यै घाम चर्केकाले झ्याल खोलें । घामको उज्यालो प्रकाशले पसलहरु उज्याला देखिन्थे । पुराना पसल पनि रातो लुगाले होला नयाँ जस्तै लाग्थ्यो । डमीहरु पनि नयाँ दुलही जस्तै सजिएका थिए । मेरो मन त्यसै खुशी हुँदै भन्दै थियो–कि आहा ! कति उज्यालो सधै यस्तै समय आओस् ।

कोरोनाको कहरले अँध्यारो भएको मेरो मन आज उज्यालो भएको थियो । पसलमा पनि धरैजसो महिला दिदी–बहिनीहरुकै भिड थियो । उनीहरु सबैको अनुहार पनि भर्खर लाली चढेको घाम जस्तै उज्यालो थियो । उनीहरु भित्रभित्र खुशी थिए न कि कुनै हाँस्य कलाकारले हँसाएको होस् । म अफिस पुगें । शुक्रबारको दिन भएकाले होला प्रायः सबै आउट ड्रेसमा थिए ।

प्रायःको नयाँ लुगा देखिन्थ्यो । सबै नयाँ र रातो रङ मिसिएको लुगा लगाएर आएका रहेछन् । एक जना सरले भन्नु भयो, ‘हैन तीज आइसकेको हो कि क्या हो ? सबैको रातो लुगा देख्छु ।’ एक जना मिसले भन्नु भयो, ‘हो नि सर म्यामलाई साडी किनी दिनु भो ?’ सरले भन्नु भयो, ‘लाउने भए पो किन्नु ।’ महिला साथीहरु हाँसे ।

यतिकैमा खाजा खाने बेलामा पनि कसले के र कस्तो सामान किन्ने भन्ने कुरामै बित्यो । एक जना नयाँ मिस आएको एक हप्ता भएको थियो, वहाँ विवाहित हो कि अविवाहित हो थाहा थिएन । भनौ, वहाँले विवाहित महिलाले लगाउने कुनै सामान लगाउनु हुन्न थियो । सामान्यतया हाम्रो समाजमा टीका, चुरा–पोते र सिन्दुर लगाउने चलन छ । त्यसैले वहाँलाई मिस भन्ने कि मेडम भन्ने कुरामा पनि एक–दुई दिन छलफल नै भएको थियो । पछि मिस नै भनियो । वहाँले पनि यसपालि तीजमा राम्रो सारी किन्ने कुरा गर्नुभयो र साथै नौगेडीको रहर लागेको कुरा गरेपछि हामी सबै छक्क पर्‍यौं ।

‘ए……तपाई विवाहित हो ?’, मैले भनें । ‘लौ हो नि, एउटा नानी दुई कक्षामा पढ्छे’ भनेपछि म छक्क परें तर वहाँ मख्ख पर्नु भयो । वहाँले आफू भर्खर कि ठिटी जस्तो महसुस गर्नुभयो ।
नाकमा बुलाकी, रातो सारी, चौबन्दी चोलो, ढाकाको नयाँ ओड्ने, सिउँदोभरी सिन्दुर, हातभरी चुरा निधारमा रातो टीका र गलामा पोतेको झुत्तो लगाएर ६ महिनाअघि अमेरिका जानु भएकी मेरी काकी फर्केर आफ्नो जन्मभूमि आउँदा त पेन्ट भेस्टमा बिना सिन्दुर आउनु भएको थियो । भोलिपल्टदेखि नै वहाँले कुर्ता–सुरुवाल लगाउन थाल्नु भयो ।

म अचम्ममा परें र सोधें, ‘हैन पुरै परिवर्तन पो छ त काकी ? तपाईलाई पनि उतैको हावाले छोयो कि क्या हो ?’ हाँस्दै काकीले भन्नु भयो, ‘अम्रिकामा बस्दा छोरीले लगाउन दिइन् अनि बानी हटेछ । अब लगाउँदा त अप्ठ्यारो पो लाग्छ । लुगा पनि यस्तै सजिलो । कसले फनफनी बेरिरहोस् । काकीको यो आधुनिक बोली सुनेर हाँसी मात्र रहें म र मनमनै गुन्न थालें, ३५ वर्ष पहिलेदेखि लगाई आएको लुगाको स्वरुप ६ महिनामै परिवर्तन गर्ने यो अमेरिका पनि अनौठो रहेछ ।

शनिबारको दिन थियो घरको काम सकेर यसो कौसीमा निस्किएँ । तल्लो तलामा बस्ने दिदीले तीजलाई साडी किन्या भन्नु भयो । मैले म त पोहोरकै लगाउँछु भनें । अरु पनि थिए त्यहाँ । एक जना आमा बत्ति कातेर बस्नु भएको थियो । वहाँले भन्नुभयो, ‘अरुबेला एउटा टीको लाउदैनौ अहिले सारी ? को विवाह गरेको को नगरेको छुट्याउन सकिन्नँ । त्यहि भएर त केटाहरुले जिस्काउँछन् नि । त्यहि तीजका दिन मात्र लगाएर हुन्छ र ?

साँच्चै हो नि एक दिनका लागि सबै नयाँ र महँगो सामान लगाउन किन मरिहत्ते । तीजका दिन पनि कुनै पुरुषले महिलालाई साडी, टीका चुरा, पोते, गहना, धागो आदि लगाउन जबरजस्ती गरेका त होइनन् । महिला आफै लगाउन उत्सुक भएका हुन् ।

अरु बेला रातो लुगा वा टीका लगाएर हिंड्दा बुढी आइमाई जस्तो ठान्ने दिदी बहिनीहरु तीजका दिन ठूलो निघारभरीको टीको, हातभरी चुरा, सिउँदोभरी सिन्दुर र पोते लगाउन रमाउँछन्् । वर्ष दिनभरी लगाउन पुग्ने पैसा एकै दिन महँगो सामान किनेर लगाउनुलाई के भन्ने ? एकै दिन धेरै खर्च गरेर लगाउनुको सट्टा अरुबेला पनि ती चिजहरु लगाउँदा के बिग्रिएला र ? कि ती चुरापोते, सिन्दुर, टीका लगाउन तिज नै कुर्नु पर्ने हो र ? जुन हाम्रो संस्कृति परम्परा अन्तर्गत नै पर्छन् आखिर ।

के हाम्रा संस्कृतिहरु देखावटीका लागि मात्र हुन् ? के हाम्रा परम्परा किताबमा पढ्नका लागि मात्रै हुन् त ? कि हामीले बोलीचालीमा मात्र सीमित राख्ने ? सबैलाई घरमा राम्रो संस्कार, सँस्कृति चाहिन्छ तर, हामीले अपनाउने बेलामा छिमेकीले के खायो र के लायोको लहडमा जान्छौं ।

कतै आधुनिकताको नाममा आफ्नै धरातल त बिर्सन खोजिएको होइन ? अरुबेला उसको नामको बोलिने एक टीको, सिन्दुर नलगाउने र रातो लुगा लगाउँदा बुढी भएको ठान्नेहरु त्यो दिन किन खर्च गरिकन सारी र अरु सम्पूर्ण श्रृंगारका सामान लगाएर नाचेको देखिन्छ ? अरुबेला टीका, चुरा, सिन्दुर नलगाउँदा वास्ता नगर्ने श्रीमानहरुले त्यस दिन पनि यो यो लगा भनेर कर पनि त गर्दैनन् होला । अरुबेला रातो लगाउँदा बुढी भएझैं लाग्ने महिलाहरुलाई तीजका दिन रातो सारी, टीका, चुरा, पोते, धागो र सिन्दुर लगाउने रहर कि बाध्यता ????

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७