नारायणी नदीको जल सतहले खतराको विन्दु पार गर्‍यो


८ आश्विन २०७७, बिहीबार
narayani

चितवन, ८ असोज । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ ।

नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो ।

आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।

त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घनमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको रायले जानकारी दिए ।

बीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले बताए । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । रायका अनुसार नारायणी नदीको शिरतर्फ पर्ने कास्की, म्याग्दीलगायतका क्षेत्रमा आउँदो १२ घण्टा निरन्तर वर्षा हुने भएकाले नदीको बहाव अरू बढ्न सक्नेछ ।

नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगर प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिए । नदीको बहाव बढ्न सक्ने भएकाले सबैलाई सतर्क रहन उनको अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७