बालुवाटारमा ओली-प्रचण्डबीचको अढाइ घण्टाको छलफल निष्कर्षबिहीन
६०-४० को अनुपातमा मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने प्रचण्डको प्रस्ताव
काठमाडौं, १२ असोज । मन्त्रिपरिषद पुनर्गठनलगायतका विभिन्न विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा चलेको अढाइ घण्टाको छलफल निष्कर्षबिहीन सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष प्रचण्डबीच झण्डै अढाइ घण्टा छलफल भए पनि सहमति निस्किनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठनकै विषयमा मुख्य केन्द्रित रहेर छलफल भएको भए पनि उक्त छलफल कुनै पनि टुंगोमा पुग्न नसकेको जनाइएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु साप्कोटाले पनि दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक निकायलाई पूणर्ता दिने कुरामा छलफल भए पनि ठोस सहमति बनिनसकेको जानकारी दिएका छन् ।
आजको छलफलमा मन्त्रालय बाँडफाँडमा समूहगत भागबण्डा हुने विषयले समेत प्रवेश पाएको बालुवाटार स्रोतले जानकारी दिएको छ । अर्थात् पार्टी एकीकरणअघि एमाले र माओवादी समूहका लागि निर्धारण गरिएको ६०-४० को अनुपातअनुसार मन्त्रीहरू समावेश गर्नुपर्ने प्रस्ताव प्रचण्डले राखेको स्रोतले जानकारी दिएको छ । आजको छलफलमा दाहालले यो विषयलाई जोड दिएर उठाएको स्रोतले जनाएको छ ।
तर, अध्यक्ष ओलीले भने पार्टी एकताको भावनालाई खण्डित हुने गरी भागबण्डा गर्न उचित नहुने अडान लिएको स्रोतको भनाइ छ । दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन गर्दा फेरिने मन्त्रीहरूको संख्या र मन्त्रालयबारे पनि कुरा मिलेको छैन ।
अध्यक्ष दाहाल भने अधिकांश मन्त्रीहरू फेरेर नयाँ अनुहार ल्याउने रणनीतिअनुसार छलफलमा केन्द्रित भएका थिए । अध्यक्ष ओलीले भने आफ्नो टिम सहज हुने गरी परिवर्तन गर्न चाहेको बुझिएको छ ।
गत ६ भदौयता आधा दर्जन पटक मन्त्रिमण्डल पुनर्गठनकै विषयमा नै केन्द्रित रहेर दुई अध्यक्षबीच छलफलमा भए पनि निष्कर्ष भने निस्कन सकेको छैन । मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफल अन्तर्गत आज सोमबार पनि सो भेट भएको हो ।
गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेपछि पार्टीका दुई प्रमुख नेताबीच छलफल सघन रुपमा भइरहेको छ ।