गोर्खाहरुको माग सम्बोधनका लागि वाम सरकारले ठोस पहल गर्छ : माधव नेपाल
प्रबिन कुलुङ राई
काठमाडौं, २४ माघ : नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गोर्खा सैनिकहरुको माग सम्बोधनका लागि ठोस पहल गर्ने बताएका छन् । गोर्खाहरुको मुद्दामा एमालेले सूरुवाती चरणदेखी साथ दिदै आएको उल्लेख गर्दै नेता नेपालले अब बाँकी माग सम्बोधनका लागि ठोस पहल गर्ने उनको भनाई छ ।
बुधबार गोरखा भूतपूर्व सैनिक गेसो (संघ)का पदाधिकारीहरुको भेटमा नेता नेपालले गोर्खाहरुको मुद्दा देशकै मुद्दा भएको उल्लेख गर्दै आगमी बन्ने वाम सरकारले गम्भिरताको साथ पहल गर्ने । सरकारले कुटनीतिक हिसाबले पनि यसको पहल गर्ने बताए । भेटमा गेसोको सभापति कृष्णकुमार राईले गोर्खाली र बेलायत सरकारबिच भइरहेको वार्ता बारे जानकारी गराएका थिए । बेलायतस्थित नेपाली राजदूताबासको समन्वयमा त्रिपक्षीय वार्ता भइरहेको र अब नेपाल सरकारले खेल्नु पर्ने भूमिका बारेमा उनले संस्मरण गराए । भेटमा एमाले नेता तथा सांसद यज्ञराज सुनुवार पनि थिए ।
गेसो सभापति राईले बेलायत सरकारका ‘स्टेट मिनिस्टर अफ आम्र्ड फोर्सेस’का मन्त्री लांककास्टर र बेलायती सेना प्रमुख निकोलस कार्टर नेपालको ५ दिने भ्रमणमा आउने लागेको जानकारी गराए । मन्त्री र सेनाप्रमुखलाई गम्भिरताको साथ गोर्खाहरुको बिषय राखीदिन आग्रह गरे । गोर्खाहरुको समस्याका बिषयमा जानकार मन्त्री लांकाकस्टर आउने भएपछि गोर्खाहरुले भेटघाट तिव्र बनाएका हुन् । यही फेबुअरी ९ देखी १३ सम्मको लागि नेपाल भ्रमण तय भएको बेलायतस्थित राजदूताबास स्रोतले जनाएको छ । यही कारण गोर्खाहरुले भटघाटलाई तिव्र बनाएका हुन् ।
औपचारिक रुपमा परेडको अवलोकन गर्न भनिएपनि मन्त्री र सेनाप्रमुखले आन्दोलन भूपू गोर्खाहरुको मुद्दाको बिषयमा पनि छलफल गर्नेछन् । कुटनीतिक भेटघाटको क्रममा उनीहरुले गोर्खा सैनिकहरुले उठाइरहेको मागका बिषयमा छलफल गर्नेछन् । आन्दोलनरत गोर्खा सैनिकहरुले उठाएका मुद्दाहरुको बिषयमा जानकार मन्त्री हुन् ।
२९ मार्च २०१७ मा गोर्खा, नेपाली राजदूताबास र बेलायत सरकारविच भएको त्रिपक्षीय वार्तामा उनी सहभागी थिए । उनले वार्तामा गोर्खाहरुको मागको बारेमा ध्यान पूर्वक सुनेका थिए । उनले भनेका थिए,‘म गोर्खाहरुको समस्या बारेमा गम्भिर छु, तपाईहरुको माग सम्बोधनको लागि पहल गर्छु ।’ करिब डेढ घन्टा बेलायती रक्षा मन्त्रालयमा उनले गोर्खाहरुको समस्या सुनेका थिए ।
सभापति राई मन्त्री आउने मेसो पाएर आइतबार नेपाल आइपुगेका हन् । मन्त्री आउन अगावै आफ्ना मुद्दा र सरोकार बिषयहरु नेपाल सरकारलाई जानकारी गराउन उनी नेपाल आएका हुन् । गेसो सभापति राईले भने,‘हामीले राखेका मागहरुको बिषयमा बेलायत सरकार गम्भिर पाएका छौं, हाम्रो मागहरुको बिषयमा जानकार माननीय मन्त्रीज्यूको नेपाल भ्रमणको खबरले हामी उत्साही छौं ।’ उनले मन्त्री आउने भएकै कारण आफू नेपाल आएको बताए । यसअघि बेलायत सरकार, नेपाली राजदूताबास र गोर्खाहरुविच चार चरण वार्ता भइसकेको छ । बेलायतस्थित नेपाली राजदूत डा.दुर्गाबहादुर सुबेदीले महत्वका साथ गोर्खाहरुको समस्या समधानमा लागेका छन् । उनको पहललाई गोर्खाहरुले प्रशंसा गर्दै आएका छन् ।
गेसो सभापति राईले मन्त्री आएको बेला नेपाल सरकारले गम्भिरताको साथ गोर्खाहरुको मुद्दा उठाइदिनु पर्ने बताए । उनले भने, ‘बेलायत सरकार आफैले चासो लिएको बेला नेपाल सरकारले पनि आफ्ना नागरिकहरुको समस्या समधानको लागि गम्भिरताको साथ उठाइदिनुपर्छ ।’ मन्त्री आउन अघि नै गोर्खाहरुले आफ्ना मागहरुको बारेमा प्रधानमन्त्री, राष्ट्रपति र दलका शिर्ष नेताहरुलाई जानकारी गराउने उनले बताए ।
गोरखा भर्ती सुरु भएको दुई सय वर्ष पुगेको छ । त्यस यता ‘गोरखाहरु’ले सन् १८१६ देखि आजसम्म प्रत्येक सैन्य मोर्चामा ब्रिटिस साम्राज्यको पक्षबाट लडेका छन् । यसबीचमा गोरखा सैनिकहरुले १३ भिक्टोरिया क्रस, दुई जर्ज क्रससहित ६५०० ठूला तक्माहरु पाएका छन् । हजारौंको संख्यामा तक्मा तथा बहादुरीका विभुषण पाएका छन् ।भारतको सिपाही व्रिदोहदेखि इराक र अफगान युद्धसम्म आइपुग्दा ६० हजारभन्दा बढी गोर्खा सैनिकहरु मारिएका छन् । तर, बेलायतले गोर्खाहरुलाई बिभेद गरेको भन्दै भूपू गोर्खाहरु आन्दोलनरत छन् ।