रअका प्रमुख गोयलसँग माधव नेपालको भेट भएको छैन : सचिवालय
काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग वरिष्ठ नेता नेपालको भेट नभएको बताएको छ ।
बुधबार विशेष विमानबाट काठमाडौं ओर्लेको केही घण्टापछि नै भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले नेता नेपालसँग गोप्य भेटवार्ता गरेका समाचार बाहिर आएको थियो । तर वरिष्ठ नेताका सचिवालयले गोयलसँगवरिष्ठ नेता नेपालको भेट नभएको वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । ‘गोयलसँग उहाँको भेट भएको छैन, भेट्ने कार्यसूची पनि छैन,’ गाैतमले भने, ‘वरिष्ठ नेता हिजो दिनभर अरु नै कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो ।’
कार्तिक १८ गतेदेखि हुने तय भएको भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको तयारीको क्रममा गोयल नेपाल आएको बताइएको छ । स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रमुख कार्यसूची लिएर उनी काठमाडौं ओर्लिएका हुन् ।