बलिउड अभिनेता आमिर खानविरुद्ध बीजेपी विधायकले हाले प्रहरीमा उजुरी
नयाँदिल्ली, १६ कार्तिक । बलिउडका सुपरस्टार अभिनेता आमिर खानविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ ।
उत्तर प्रदेशको गाजियावादमा फिल्म ‘लालसिंह चड्डा’ को सुटिङ गरिरहेका खानविरुद्ध भारतीय जनता पार्टीका विधायक नन्दकिशोर गुर्जरले प्रहरीमा उजुरी दिएका हुन् । विधायकले खानले कोरोना प्रोटोकल पालना नगरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।
अभिनेता खान गाजियावादमा भएको खबरपछि उनका स्थानीय सुभचिन्तक उनीसँग भेट गर्न सुटिङ चलिरहेको स्थानमा पुगेका थिए । आमिरले आफूलाई भेट्न आएका शुभचिन्तकसँग भेटघाट गरे । उनीहरुसँग फोटो खिचाए ।
त्यसक्रममा उनले मास्क भने लगाएका थिएनन् । बीजेपी विधायकले आमिरले शुभचिन्तकसँग भेट गर्दा मास्क नलगाएर कोरोना प्रोटोकल पालना नगरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।
प्रहरीले अहिलेसम्म आमिरमाथि कुनै कारबाही भने गरेको छैन । अभिनेता खान केही दिनअघि सुटिङका क्रममा घाइते बनेका थिए। तर उनी दुखाइ कम गर्ने औषधि खाएर सुटिङको कामलाई निरन्तरा दिएका छन् ।
यो फिल्ममा आमिरका साथमा अभिनेत्री करिना कपुरले पनि काम गरेकी छन् । यो फिल्म आगामी वर्ष क्रिसमसको अवसरमा रिलिज गर्ने तयारी छ ।