मेसीले पाए फुटवल करियरमै पहिलो रेडकार्ड, दुई खेलमा प्रतिबन्ध लाग्ने सम्भावना
काठमाडौं, ५ माघ । बार्सिलोनाका कप्तान लियोनल मेसीले आफ्नो फुटबल करियरमै पहिलो रेड कार्ड पाएका छन् ।
मेसीले गए राति भएको स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिक क्लबविरुद्धको खेलमा करियरमै पहिलो पटक रातो कार्ड पाएका हुन् । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको १२१ औं मिनेटमा एथ्लेटिक क्लबका एसिर भिलालिब्रेलाई जानीजानी फल गरेपछि मेसीलाई सोझै रातो कार्ड दिइएको हो ।
शुरुमा म्याच रेफ्री जिसस गिलले प्रत्यक्ष रुपमा मेसीको फललाई नदेखेपनि भिएआर टिमले फललाई फेरि हेर्न भनेका थिए । भिएआरको सहायतमा हेरिएको रिप्लेमा मेसीले जानीजानी एथ्लेटिकका भिलालिब्रेलाई हिर्काएको देखिएपछि रातो कार्ड सोझै रातो कार्ड दिइएको थियो ।
खेलको दौरानमा आफ्नो गलत व्यवहारका काण सोझै रातो कार्ड पाएका मेसीलाई दुई खेलको प्रतिबन्ध लाग्ने सम्भावना रहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । मार्काका अनुसार सुपर कपको फाइनलमा कुनै पनि खेलाडीले रातो कार्ड पाएमा आर्टिकल ५६.८ अन्तर्गत ती खेलाडीलाई घरेलु फुटबलको प्रतियोगितामा कारबाही हुन सक्नेछ । एजेन्सी