नागरिक भेलामा सरकारको दमन, तेश्रो जनआन्दोलनको घोषणा
१२ जना घाइते
काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको विरोधमा निकालिएको नागरिक मार्च पासमा प्रहरीले दमन गरेको छ । ओली कदम विरुद्ध जारी वृहत् नागरिक आन्दोलनको क्रममा सोमबार भएको शान्तिपूर्ण भेलामा सरकारले निर्मम दमन गरेको हो ।
आन्दोलनका विभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज कमलपोखरीबाट मार्च पास गर्दै प्रधानमन्त्री निवास, बालुवाटार पुग्ने र कोणसभा आयोजना गर्ने पूर्वघोषित कार्यक्रम थियो । ‘बृहत नागरिक आन्दोलन २०७७’ समूहका नाममा विरोध जनाउन गएका समूहले त्यसअघि कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टिका लगाएर बालुवाटारतर्फ मार्च गरेका थिए ।
यसक्रममा प्रहरीले प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक प्रदर्शनकारीलाई रोकेर दमन गरेको हो । भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन् ।
वृहत् नागरिक आन्दोेलनको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्ति अनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पीग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ । गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् । यो विज्ञप्ति तयार पार्दासम्म जैसीको होस आएको छैन ।
प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक आन्दोलनकारीलाई रोकेको थियो । पीपलबोटमा आयोजना गरिएको कोणसभालाई डा गोविन्द केसी, खगेन्द्र सङ्ग्रौला, मोहना अन्सारी र नारायण वाग्लेले सम्बोधन गरेका थिए ।
प्रदीप देवानले गीत प्रस्तुत गरे भने प्रणिका कोयूले कविता वाचन गरेकी थिइन् । शिल्पी थिएटरले सडक नाटक तथा विमिन इन पोलिटिक्सले प्रदर्शन गरेको थियो । कोणसभापछि शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसलाई प्रहरीले एक्कासी लाठी र पानीको फोहोरा प्रहार गरेको थियो ।
अब तेस्रो जनआन्दोलन सुरु भयो : पत्रकार वाग्ले
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन सुरु भएको बताए । भने, ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । बिना सूचना बर्बर दमन गरेको छ । अब तेस्रो जनआन्दोलन सुरु भयो ।’
वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए । उनले भने, ‘आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्ने छौं । घाइते भएका हाम्रा साथीहरुको यथार्थ जानकारी संकलन गर्ने छौं । सरकारको लालच हामीलाई चाहिँदैन । हामी आफैं उपचार गर्ने छौं ।’