सांसद कृष्णभक्त पोखरेल नेपाल-खनाल समूह छाडेर किन गए ओली समूहमा ?
काठमाडौं, ७ चैत । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह छाडेर सांसद कृष्णभक्त पोखरेले शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहको बैठकमा गए । खनाल–नेपाल समूहका नेता पोखरेल शनिबार एकाएक बालुवाटार गएका हुन् ।
नेकपा विभाजनको बेला प्रचण्ड माधव पक्षको प्रतिनिधिका रुपमा अदालत र निर्वाचन आयोगको काम हेर्ने गरेका पोखेरल कानुन व्यवसायी समेत हुन् ।
स्रोतका अनुसार ५ चैत २०७७ मा प्रधानमन्त्री ओलीले बिहान ११ बजे बोलाएको संसदीय दलको बैठकमा खनाल–नेपाल समूहका सांसदहरुले जाने निर्णय गरेका थिए । नेताद्धय खनाल र नेपाल पनि बैठकमा सांसदहरुलाई जान भनेका थिए ।
नेताहरुको निर्देशनपछि धेरै सांसदहरु बालुवाटार हिडेका थिए । तर, उपाध्यक्ष भिम रावलले बैठकमा जान नहुने कडा अडान राखेपछि सांसदहरुलाई बाटैबाट फर्काइएको थियो । ढिलो सूचना हुदा सांसदद्वय कलिला खातुन र गंगा चौधरी सत्गौवा भने बालुवाटार पुगेका थिए ।
पोखरेल बैठकमा सहभागी भएर आफ्नो समूहको अडान र विचार स्थापित गर्नु पर्ने पक्षमा उभिएका थिए । यही बिषयमा विवाद भएपछि पोखरेल शनिबार ओली समूहको बैठकमा गएका हुन् ।