बादल कारबाहीमा परेपछि रिक्त राष्ट्रिय सभा सदस्य पदको चुनावको तयारी


७ बैशाख २०७८, मंगलवार
nirbachan aayoga

काठमाडौं, ७ बैसाख । नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एउटा सदस्य पद खाली रहेको जानकारी गराएपछि आयोगले त्यो परिपूर्तिका लागि आगामी जेठमा चुनाव गर्ने प्रस्ताव राखेर गृह मन्त्रालयलाई पत्राचार गरेको हो । राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार पदावधि ६ महिनाभन्दा बढी बाँकी रहँदै राष्ट्रिय सभामा सदस्य पद रिक्त भएमा ३५ दिनभित्र निर्वाचन गराई पूर्ति गर्नुपर्छ ।

गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य पदबाट बर्खास्त गरिएको मिति (यही वैशाख ५ गते) बाट ३५ दिन जेठ ७ गते पुग्छ । यसैले जेठ पहिलो साताभित्र निर्वाचन सम्पन्न हुने गरी गृह मन्त्रालयमा सोमबार प्रस्ताव पेस गरिएको निर्वाचन आयोगले जनाएको छ ।

गृहमन्त्री थापा माओवादी केन्द्रको उम्मेदवार बनी बागमती प्रदेशबाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए । यसै कारण अब हुने निर्वाचनमा बागमती प्रदेशकै प्रदेश सभा र स्थानीय तहका पदाधिकारी–सदस्यले मतदान गर्नुपर्नेछ। आयोगका अनुसार बागमती प्रदेश सभामा ११० र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३३८ जनाले मतदानमा सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७