उपप्रधानमन्त्री पोखरेलले महावीर पुनलाई भेट्दै गरे कामको प्रशंसा
काठमाडौं, २६ बैसाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना महामारीविरुद्वको लडाईमा निरन्तर सरकारलाई सहयोग गर्दै आएका म्यागासेसे पुरस्कार विजेता एवं चर्चित नेपाली वैज्ञानिक महावीर पुनको भूमिकाको प्रशंसा गरेका छन् ।
सिंहदरबारमा आइतबार भएको भेटमा कोरोनाविरुद्वको लडाईंमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन् । कोरोनाविरुद्वको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।
भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउना साथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिएका थिए । उनका अनुसार आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ ।
वैज्ञानिक पुनले संकटकालीन अवस्था भएकाले त्यहीअनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका छन् ।