उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा थप्ने तयारी
काठमाडौं, २७ बैसाख । काठमाडौं उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै जिल्ला प्रशासन कार्यालयले जेठ १० वा १२ गतेसम्म निषेधाज्ञा थप्ने गरी छलफल गरेका छन् ।
मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर यही रुपमा अझै निषेधाज्ञा थप्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् । ‘अहिलेको निषेधाज्ञालाई १० वा १२ गतेसम्म लम्ब्याउने र कडाइका साथ कार्यन्वयन गर्ने भन्ने छ, भोलि संयुक्त बैठक बसेर निर्णय गर्छौं’, प्रजिअ भट्टराईले भने ।
तीन वटै जिल्लाले आइतबार र सोमबार आन्तरिक रुपमा स्थानीय तह, सुरक्षा निकाय र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका छन् । छलफलमा सबै जिल्लामा निषेधाज्ञा लम्ब्याउने सहमति जुटेको हो ।
सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दिएको छ । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा २९ गते सकिने छ । त्यसअघि नै थप निर्णय गर्ने तयारी भएको हो ।