सुदूरपश्चिमका १७ सांसदलाई ओली पक्षले सोध्यो २४ घण्टे स्पष्टीकरण


२७ जेष्ठ २०७८, बिहीबार
1622110406 Prakash shah UML farweast

धनगढी, २७ जेठ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका १७ सांसदलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले प्रदेश सभामा संसदीय दलका नेता प्रकाशबहादुर सिंहसहित १७ सांसदलाई स्पष्टीकरण सोधेका हुन् । उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र पठाएको सचिव रावलले जानकारी दिएका छन् ।
हिजो (बुधबार) सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका थिए । माधवकुमार नेपाल पक्षका १७ सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिए । ओली पक्षले भने विपक्षमा मतदान गरेको थियो ।

एमाले स्थायी समिति र प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) को नेतृतवमा रहेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। त्यस्तै, प्रदेश कमिटीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।

तर, नेपाल पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले मुख्मयन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो । त्यहि अनुसार नेपाल पक्षका १७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

पार्टी नीति र निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई सघाएकाले स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटी सचिव रावलले बताएका छन । उनीहरूले समयमै चित्तबुझ्दो स्पष्टीकरण नबुझाएमा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७