विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनियर संघर्षमा


२ असार २०७८, बुधबार
puna nirman

काठमाडौं, २ असार । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब इन्जिनियरले काम रोकी विरोध सुरु गरेका छन् ।

शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष भैरव धितालले जानकारी दिए ।

संघर्ष समितिले सबैलाई पुरानै दरबन्दीमा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विनाविभागीय मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र बुझाएको छ । सबै कर्मचारीलाई पुनर्स्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको समितिले जनाएको छ ।

सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इन्जिनियर र सब इन्जिनियरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ । जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिए। थप संघर्षका कार्यक्रम केही दिनमा घोषणा गरिने उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७