पाकिस्तानलाई थप २० लाख चिनियाँ खोप प्राप्त


११ असार २०७८, शुक्रबार
chines khop

काठमाडौं, ११ असार । पाकिस्तानले कोरोना भाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् ।

खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो । चीनको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप पाकिस्तानको राजधानी इस्लामावाद ल्याई पुर्‍याएको हो ।

कोरोनाभाइरस नियन्त्रण तथा व्यवस्थापनको मुख्य जिम्मेबारी दिइएको राष्ट्रिय नियन्त्रण तथा परिचालन केन्द्रकअनुसार राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय बजारबाट अरु खोप पनि ल्याउने प्रयास गरिरहेको छ ।

अहिले चीनबाट ल्याइएको खोप देशभरी रहेका खोप केन्द्रहरुमा पठाइने र त्यहीबाट आम नागरिकलाई लगाइने अधिकारीहरुले जनाएका छन् । पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ५० हजार ७६८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ९३० जना बुधबार थपिएका हुन् ।

राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयका अनुसार बुधबार थप ३९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यो सँगै पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु भएकाहरुको संख्या २२ हजार ७३ पुगेको छ ।

पाकिस्तानमा यसअघि पनि चीनबाट नै दश लाख मात्रा सिनोफार्मा खोप प्राप्त भएपछि देशव्यापी खोप अभियान सञ्चालन गरिएको थियो । गत मार्चमा संचालन भएको सो खोप अभियानअन्तर्गत अग्रपंक्तिमा खटिएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई खोप सेवा उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७