नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै

विहानै दोस्रो तहका नेताहरुको वार्ता


१७ असार २०७८, बिहीबार
Madhav jhalanath1

काठमाडौं, १७ असार । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल– पक्षको स्थायी कमिटी बैठक बस्दैछ । बैठक केही बेरमा बस्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागी हुने वा नहुने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजो बालुवाटारमा महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसैबीच एमालेका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । पार्टी एकताका विषयमा बुधबार साँझ छलफल गरेका नेताहरुबीच बिहीबार बिहान पनि छलफल भएको छ ।

बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए । ‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह बस्ने समझदारी भएको छ’, माधव नेपाल पक्षका एक नेताले भने, ‘एकताका लागि आज लगभग अन्तिम प्रयास हुनेछ ।’

एमाले विवाद समाधानका लागि अध्यक्ष केपी ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायतका नेता र माधव समूहका भीम आचार्य, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु सक्रिय छन् ।

तर, केपी शर्मा ओली पक्षले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर आयोजक कमिटी भंग गरेको घोषणा गर्दै जेठ २ मा फर्कने भने पनि सहमति बिनै केही नेताहरुलाई स्थायी समितिमा मनोनयन गरेपछि ओली फागुन २८ भन्दा अघि फर्कन नचाहेको माधव पक्षको बुझाइ छ । अध्यक्ष ओली फागुन २८ बाट पछि नहटेपछि जेठ २ को पार्टी संरचना अनुसार शुक्रबार बोलाएको भनिएको बैठकमा माधव समूह नजाने बताइसकेको छ । यद्यपी ओली पक्ष भने आउने जतिलाई समेटेर अघि बढ्ने रणनीतिमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७