नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण
काठमाडौँ, २८ असार । नबिल बैंक लिमिटेडले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ। आफ्नो ३७औँ वार्षिकोत्सवको अवसरमा सोमवार एक कार्यक्रमकबीच सो प्लान्ट हस्तान्तरण गरिएको हो।
प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटररप्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ।
कोभिड १९ दोस्रो लहरको अन्त्यसँगै अहिले विश्वको अन्य मुलुकहरूमा तेस्रो लहर फैलिदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास लिएको बैंकले जनाएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड-१९ को महामारी सुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ। गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई ६ करोड नगद सहयोग गरेको थियो।
त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग समेत साझेदारी गरी विपद्को पूर्वतयारी र क्षमता विकासका लागि काम गर्दै आएको जनाएको छ।