कोरोना अनुसन्धानमा वुहान प्रयोगशाला समेटिएपछि डब्लूएचओको योजना चीनद्वारा अस्वीकार
काठमाडौं, ७ साउन । कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अध्ययन गर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओको योजनालाई चीनले अस्वीकार गरेको छ ।
अब गरिने अध्ययनको प्रस्तावनामा वुहानको प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको हुनसक्ने विषयलाई समेटिने भएपछि चीनको शीर्ष स्वास्थ्य अधिकारीले डब्लूएचओको अध्ययनमा सहभागी नहुने बताएका हुन् ।
चिनियाँ स्वास्थ्य आयोगका उपप्रमुख जेङ यिक्षिङले पत्रकार सम्मेलनमा डब्लूएचओको अनुसन्धान उद्देश्यमा वुहान प्रयोगशालाको विषय समेटिएकाले आफूलाई आश्चर्य लागेको बताए । यसअघि पनि डब्लूएचओले चीनको वुहानमै गएर अनुसन्धान गरिसकेको छ । सो अध्ययनपछि अनुसन्धानकर्ताले वुहानको प्रयोगशालाबाट कोरोना फैलिएको कुनै तथ्य फेला नपारेको बताएका थिए ।
उनीहरुले कोरोना भाइरस जनावरबाट जनावर हुँदै मानिसमा कोरोना फैलिने सम्भावना बढी भएको उल्लेख गरेका थिए । डब्लूएचओको योजना विज्ञानको विपक्षमा भएको र आफूहरुले त्यस्ता योजनालाई समर्थन जनाउने सम्भावना नभएको स्वास्थ्य आयोगका उपप्रमुख यिक्षिङको भनाइ छ ।
अमेरिकाले वुहान प्रयोगशालाका चिकित्सकहरुमा कोरोना देखिएपछि नै यो भाइरस धेरै स्थानमा फैलिएको आरोप लगाउन गरेका छन् । चीनले भने वुहान प्रयोगशालाको कसैलाई कोरोना नलागेको बताउँदै आएको छ । सीएनएन