ओलीलाई विस्थापित गर्ने न्यायाधीशहरुलाई सरकारले पुरस्कृत गर्नु अर्थपूर्ण : सुवास नेम्वाङ


३ आश्विन २०७८, आईतवार
subash nembang scaled

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले केपी शर्मा ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने, नेकपा एमाले फुटाउन भूमिका खेल्नेसँगै फैसला सुनाउने न्यायाधीशलाई समेत मानपदवी, अलंकार दिनु अर्थपूर्ण भएको बताएको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न फैसला दिने न्यायाधीशहरूलाई शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले पुरस्कृत गरेको बताएका छन् । नेम्वाङले यसले मिलेमतोको सन्देश दिने संकेत गरेका छन् । पारी चितुवा करायो, वारी सिंगारी हरायो भनेझै केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध मुद्दा हाल्न पहल गर्ने र परमादेशबाट नयाँ सरकार बनाउने न्यायाधीशलाई पदक दिइएको उनले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक दिइएको छ । प्रतिनिधि सभा विघटनको दोस्रो मुद्दामा शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्कालाई सुकीर्तिमय राष्ट्रद्वीप पदक दिनइएको छ । कानूनका विद्यार्थीहरु सुलभ खरेल र समृत खरेलले पनि जनसेवाश्री पाएका छन् ।

एमाले संसदीय दलका नेता नेम्वाङले अघि भने, ‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो । दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो, उहाले पाउनु भएछ ।’ उनको संकेत पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालतिर थियो । खनाललाई राष्ट्र गौरव विभूषण प्रदान गर्ने निर्णय भएको छ ।

प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै नेम्वाङले भने, दुई जना नेताहरु यही रहेर क्रियाशील हुनुहुन्थ्यो, उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनु भएछ ।’ माधव नेपालका पिताले प्रवल जनसेवाश्री ले र प्रचण्ड पत्नी सीता दाहालले उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक पदक पाएका छन् ।

नेम्वाङले भनेका छन्, ‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कामनून व्यवसायी मित्रहरुले मेडल पाउनु भएछ । त्यसैगरी अरु ढंगले भूमिका निर्वाह गर्नेहरुले पाउनु भएछ । मुद्दाको फैसला गर्ने सवैधानिक इजलासमा बस्नु भएको न्यायाधीशहरुले पाउनु भएको छ ।’

‘यस्तै भएको हो भनेर म टिप्पणी गर्दिन । तर पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयो । उहाँहरुलाई न्यायाधीशका रुपमा आदर गर्छु । त्यसेले उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तरुन्तै यो दिइएको मेडल हामी अस्वीकार गर्छौं भनेर घोषणा गरिदिनुस्’, नेम्वाङले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७