आर्थिक चलखेल गरेर मनपरी सरुवा, बरिष्ठ डीईहरु जिम्मेवारीबिहीन, इन्जिनियरलाई कामु डीई


११ आश्विन २०७८, सोमबार
mantralaya

काठमाडौं, १० असोज : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सडक विभाग अन्तर्गतका डिभिजन र आयोजना प्रमुखको सरुवा आर्थिक चलखेलका आधराम गरेका छन् । बरिष्ठता, कार्यक्षमता, कार्यसम्पादन र स्वच्छ छविलाई आधार नमानी घुसलाई आधार मानेर सचिव श्रेष्ठले उपसचिव (डीई) हरुको सरुवा गरेका छन् ।

भौतिक मन्त्रीको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई गुमराहमा पारी सचिव श्रेष्ठले इन्जीनीयरहरुलाई महत्वपूर्ण आयोजनाको कामु डीईमा सरुवा गरिएको छ । बरिष्ठ डीईहरुलाई करिडोरमा राखी कनिष्टहरुलाई लेनदेनका आधारमा आधारमा महत्वपूर्ण आयोजनामा सरुवा गरिएको छ ।

इन्जीनीयरहरु आशुतोष कर्ण, कल्पना अधिकारी, अर्जुनविलास पन्तलाई कामु डीई बनाएर पठाइएको छ । कर्णलाई दार्चुला–टिंकर सडक आयोजना, कल्पना अधिकारीलाई कालीगण्डकी करिडोर र पन्तलाई चामे–बेसीसहर सडक आयोजनाको प्रमुखमा सरुवा गरिएको छ ।

बरिष्ठ डीईहरु कृष्णराज अधिकारी, केदार नेपाल, अंगलाल रोकाय, गुरु अधिकारी, ज्ञानेन्द्र झा, विनोद महुवार र निरज शर्मालाई जिम्मेवारीबिहीन बनाई करिडोरमा राखिएको छ । बरिष्ठ डीईलाई करिडोरमा राखी इन्जीनीयरलाई कामु डीई बनाएर आयोजनामा सरुवा गर्दा सचिव श्रेष्ठले दररेट अनुसार असुली गरेको आरोप छ । सडकका सरुवा बरिष्ठता र कार्यक्षमतालाई आधार नमानी अपारदर्शी तरिकाले गरेकोबारेमा सचिव रविन्द्रनाथ श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनले मोवाइल नै रिसिभ गरेनन् ।

यसअघि सचिव श्रेष्ठले अख्तियारले घुस लिँदालिँदै पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर नगरी गुपचुप उन्मुक्ति दिइएका डीई ललितजंग खनाललाई अछामको साँफेबगरबाट कास्की डिभिजनको प्रमुख बनाइसकेका छन् । सडक विभागबाट लक्ष्मी केसीलाई दमौली डिभिजनमा सरुवा गरेका थिए । कपिलवस्तुको शिवपुर डिभिजनका रामकुमार देवलाई लहान डिभिजनमा सरुवा गरिएको छ ।

बिहानदेखि साँझसम्म भौतिक मन्त्रालयका सचिव श्रेष्ठको कार्यकक्षमा बस्दैआएका रविन श्रेष्ठले नै इन्जीनीयरहरुबाट दररेट अनुसार लिएर सरुवाको चाँजोपाँजो मिलाएको चर्चा सडकमा छ । बिचौलिया रविन श्रेष्ठको सचिव रविन्द्रनाथको कनेक्सन उनी सडक विभागको महानिर्देशक हुँदादेखिकै हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७