दुवै खुट्टा गुमाएका नबिवले हातले हिंडेर गरे मनास्लुको सफल आरोहण
काठमाडौं, १६ असोज । दुवै खुट्टा गुमाएर रुसी नागरिक रुस्थम नविवले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । सन् २०१५ मा रुसको ओमस्कमा ब्यारेक भत्किँदा दुवै खुट्टा पूर्णरुपमा गुमाएर पनि बाँच्न सफल उनले शनिबार विहान १० बजे ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।
दुवै खुट्टा गुमाएर पनि हिम्मत नहारेका २८ वर्षीय उनले मनास्लु हिमालको सफल आरोहण गरेको पुष्टि इम्याजिन नेपाल ट्रेक एण्ड एक्सिपिडसनका प्रबन्ध निर्देशक मिङ्माग्याल्जे शेर्पाले गरे । ‘दुवै खुट्टा गुमाएका कुनै पनि आरोही पहिलो पटक हातले टेकेरै शिखरमा पुगेका छन्’, उनले भने, ‘मनास्लु शिखर चुम्न गरिएको यो कुनै सजिलो अभियान थिएन । तर रसियन नागरिकले हातले टेकेर नै ८,१६३ मिटर अग्लो शिखर चुम्दै यो कीर्तिमान बनाउन सफल भएका छन् ।’
यसअघि पनि १५ घण्टा हातले हिँडेर सन् २०२० मा उनले युरोपको सबैभन्दा अग्लो हिमाल माउण्ट एल्ब्रस आरोहण गरेका थिए । माउण्ट एल्ब्रसको उचाइ केबल ५,६४२ मिटर छ । उनी सेप्टेम्बर २७ मा मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्प पुगेका थिए । उनले बेस क्याम्पबाट शिखर आरोहण थाल्दै आफूलाई हातले नै घिसारेर अघि बढाएका थिए ।