श्रममन्त्री श्रेष्ठले सबैभन्दा छिटो सार्वजनिक गरे सम्पति विवरण, हेर्नुहोस् कति छ सम्पति ?


२५ आश्विन २०७८, सोमबार
krishnakumar shrestha tanahu leaders scaled

काठमाडौं, २५ असोज :  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री बनेको चार दिनमै उनले सबैभन्दा छिटो आफ्नो अरबाैँको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मन्त्री श्रेष्ठले मन्त्री नियुक्त भएको चौथो (चार) दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले सर्वाजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको खुलाएका छन् । काठमाडौँ महानगरपालिका वडा-९ मा कित्ता नम्बर ११४, ०-८-०-० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ ।

त्यस्तै, काठमाडौँ महानगरपालिका वडा नम्बर-३ मा कित्ता नम्बर १ सय आठ, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौं महानगरपालिका वडा-१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०-८-३-३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ ।

उनले आफ्नो दुई घर रहेको उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिका ३ मा साढे दुई तलाको घर र काठमाडौँ महानगरपालिका ९ धापासीमा ७ तालको व्यवसायिक घर रहेको जनाएका छन् । उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको जनाएका छन् । २ करोड १७ लाख २४ हजार ४ सय मूल्य बराबरको सेयर लगानी रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, उनले २० वटा व्यवसायिक कम्पनीहरुमा १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेका उल्लेख छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवराण्मा जम्मा ९ करोड ६९ लाख ७३ हजार ५० मुल्यबराबरको रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

त्यस्तै, गरगहनामा विवरणमा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको खुलाएका छन् । त्यस्तै उनले बैंक खाता विवराणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन् । उनले तीन वटा आफ्नो श्रीमतीको पाँच आफ्नो रहेको विवरणमा खुलाएका छन् ।

उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बंगलादेश बैंकमा आफ्नो बैक खाता रहेको जनाएका छन् । त्यस्तै उनको श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको बैंक खाता नम्बरसहित खुलाएका छन् । तर, बैंकमा कति पैसा छ भन्ने कुरा भने खुलाएका छैनन् ।

त्यस्तै उनले लिएको ऋण विवरण पनि खुलाएका छन् । उनले ग्लोबल आइएमईबाट ४ करोड ९७ लाख ७४ हजार ३ सय ७९ रुपैयाँ ऋण लिएको जनाएका छन् । त्यस्तै उनले विदेशबाट सापटी लिएको ५२ लाख ७२ हजार ९ सय ५७ रुपैयाँ १५ पैसा, किसान हार्डवेयरबा २ करोड ५० लाख, नेपाल बंगलादेश बैंक लिमिटेडबाट ५० लाख र आइएमइ कोअपरेटिभ कान्तिपथबाट ६ करोड लिएको उल्लेख गरेका छन् ।

त्यस्तै सवारी साधन विवरणमा उनले आफ्नो चार वटा सवारी साधन रहेको जनाएका छन् । उनले सार्वजनिक गरेको सवारीसाधन विवरणमा उनले आफ्नो नामममा रहेको ४८ लाखको ल्याण्क्रुजर टोयटा प्राडो, ५२ लाख ५६ हजारको मोडल टोयटा आरएभि-४, ३७ लाख मूल्यको निशान र ९५ लाख टोयटा हाइलक्स रहेको उल्लेख गरेका छन् ।

उनले सार्वजनिक गरेको अन्य सम्पत्ति विवरणमा टिभी एक थान, दराज १, कम्युटर १, ल्यापटप १, टेबल १, फ्रिज १, एसि १, सोफासेट १, रोलेक्श घडी २, मोबाइल सेट १, डायनिङ टेबल १ रहेको उल्लेख छ ।

मन्त्री श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे सरकारमा मन्त्री बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७