मुक्तिनाथमा विष्णुको मूर्ति बनाउन शेष घलेले ५० लाख दिने


१० कार्तिक २०७८, बुधबार
shesh ghale mustang vzDYMp9lEf

मुस्ताङ, १० कात्तिक । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति बन्ने भएको छ । यहाँ ३५ फिट अग्लो बुद्धको मूर्ति रहेको छ ।

उक्त क्षेत्रमा ढुंगाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाइमा ढुंगाकै मूर्ति कुँदेर विष्णुमूर्ति बनाउन लागिएको हो । त्यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले ५० लाख दिने घोषणा गरेका छन् ।

एनआरएन अमेरिकाका अध्यक्ष समेत भइसकेका सोनाम लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति बनाएका थिए । उक्त बुद्धमूर्ति अहिले धार्मिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा झण्डै ६ वर्ष लगाएर बुद्ध मूर्ति बनाइएको थियो ।

मुक्तिक्षेत्रमा रहेको सोही बुद्धमूर्ति भएकै ठाउँमा पुगेर घलेले विष्णुको मूर्ति बनाउन ५० लाख दिने घोषणा गरेका छन् । लामाले आफ्नो आमा बुवाको नामबाट उक्त रकम दिने घोषणा गरेका हुन् ।

नेपालमा बुद्ध र हिन्दु एकदमै मिलेर बसेको हर्मोनी भएको भन्दै घललेले सोही ठाउँमा विष्णुको मूर्ति बनाउनका लागि सबैलाई आह्वान पनि गरेका छन् । यो अभियानमा धेरैभन्दा धेरै व्यक्तिहरुलाई सहभागी गराउन चाहेको भन्दै घलेले एक रुपैयाँ अथवा एक डलर किन नहोस्, सबैलाई अपनत्व हुने गरी सहभागी गराउने बताए ।

यसका लागि सोनाम लामा र शेष घले दुई जनाले नेतृत्व गर्ने पनि बताए । यो कार्य ब्यक्तिगत नभई राज्यका हुने भएकाले सरकारका तर्फबाट गुरुयोजना हुन सक्यो भने त्यहाँबाट पनि कोशिस गर्ने घलेले बताए । एनआरएनए पूर्व अध्यक्ष घलेले ५० लाख घोषणा गरेसँगै ब्रिटिस आर्मीका मेजर डम्मर घलेले पनि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । मुक्ति क्षेत्रमा रहेको उक्त विशाल बुद्ध मूर्तिलाई आफूले चन्द्रमामा बनाएको घर जस्तै ठानेको पनि घलेको भनाई थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७