साझा उम्मेद्वार बनाएर देउवालाई यो महाधिवेशनबाट विदा गर्छौ : मिनेन्द्र रिजाल
काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १४ आसन्न औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवालाई विदा गर्ने दावी गरेका छन् । इतर समूहको जारी बैठकमा क्रममा पत्रकाहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी साझा उम्मेदवार बनाउँछौं । अंक गणित पनि त्यही हो, कांग्रेसको राजनीति पनि त्यही हो । महाधिवेशन प्रतिनिधिहरु नेतृत्व फेर्ने गरी आउनु भएको छ’, उनले भने, ‘हामी साझा उम्मेदवार उठाएर शेरबहादुर देउवालाई आभार प्रकट गर्दै नयाँ सभापतिमा अरुलाई ल्याउन तयार छौं ।’
रिजालले साझा उम्मेदवार चयनमा देखिएको सकसबारे पनि जवाफ दिए । ‘हाम्रो पार्टी कम्युनिष्ट होइन कांग्रेस हो । बीपी पनि चुनाव लड्दा सर्वसम्मत भएनन्’, उनले भने, ‘प्रतिस्पर्धाको परम्परा रहेकाले यो वा त्यो पदमा बस भन्ने कुरा होइन । सकस पर्छ लोकतान्त्रिक प्रक्रियामा जाँदा ।’ रिजालले मनोनयन गर्न जाँदासम्म साझा उम्मेदवार बनाइसक्ने बताएका छन् । ‘नामाङ्कन पत्र दाखिला गर्दा हामी साझा उम्मेदवार बनाउँछौँ’, उनले भने, ‘शेरबहादुरको विकल्पमा नयाँ व्यक्ति हुनुपर्छ । हामी उहाँलाई बिदा गर्छौ ।’