रोल्पामा कांग्रेस नेताहरू बसेको घरमा राति लगाइयो आगो
रोल्पा । रोल्पामा नेपाली कांग्रेसका नेताहरूलाई लक्ष्ति गरी एक घरमा अज्ञात समूहले आगो लगाएको छ । कांग्रेसका रोल्पा जिल्ला उपसभापति हरि पुन र सचिव शेरबहादुर थापा पाहुना लागेको गंगादेव गाउँपालिका-५ को घरमा सोमबार राति आगजनी गरिएको हो ।
भाग्यवश रातिको खाना त्यही घरमा खाए पनि सुत्न भने अर्कै घरमा गएकाले उनीहरूलाई केही हुन पाएन । कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले नेपालखबरलाई दिएको जानकारीअनुसार श्रद्धाञ्जली कार्यक्रमका लागि उनीहरु त्यहाँ गएका थिए ।
‘हामी खाना खाएर उहाँकै अर्को नजिकैको घरमा सुतेका थियौं’, कांग्रेस रोल्पा समितिका सचिव थापाले भने, ‘खाना खाएकै घरमा सुतिरहेका छन् भन्ने अनुमानले आगजनी गरिएको रहेछ ।’ आगजनीबाट रा ५ प ९५२१ नम्बरको मोटरसाइकल र घरमा क्षति पुगेको छ । पुन र थापा भने डाँगीकै अर्को घरमा सुतेका थिए । राति पौने १० बजे मोटरसाइकलमा आगो लागेलगत्तै स्थानीय सबैको सक्रियतामा घरमा धेरै क्षति हुन पाएन ।