गृह मातहतका कर्मचारीलाई भत्ता उपलब्ध गराउन पहल गर्दैछौं : गृहमन्त्री खाँण


२३ पुष २०७८, शुक्रबार
Balkrishna khad 1

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयअन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन मन्त्रालयले पहल गरिरहेको बताएका छन् । गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालयअन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरूका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताएका हुन् ।

उनले सरकारी कार्यालयहरूमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने बताए । उनले हाल नागरिकता, ई-पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरूले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको समेत बताए ।

गृहमन्त्री खाँणले भने, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ बजेसम्मको हाम्रो कार्यावधिलाई उहाँहरू आफैंले ९ देखि ५ बनाइदिनु भएको छ । हेर्दा सजिलो छ । १० बजे पुग्नलाई ९ बजे खाना खानुपर्छ । ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ । अहिले अर्थ मन्त्रालयसँग हामीले कुरा गरिरहेका छौं। राम्रो प्रस्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन ।’ काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकाय, गृहमातहतका निकायहरूलाई ओभरटाइम नदिए पनि कम्तीमा खाजा खाने भत्ता दिनका लागि समेत आग्रह गरेको बताएका छन् ।

गृहमन्त्री खाँणले कर्मचारीहरूलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरूले सरकारलाई सचेत गराउनुपर्ने बताए । उनले सरकार र सरकारी कार्यालय सबैको साझा भएकाले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरूको भएकाले जनताको माग बुझेर सरकारलाई दबाब दिन पनि आग्रह गरे । उनले सरकारले कर्मचारीलाई र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७