रसियाले फेब्रुअरीमा युक्रेनमा हमला गर्छ : बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले आगामी महिना युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी दिएको बताएका छन् ।
रसियाले पनि अमेरिकाले आफ्ना महत्वपूणर् मागहरु अस्वीकार गरेकाले युक्रेनको समस्या समाधान गर्ने आशाको आधार न्यून रहेको प्रतिक्रिया दिएको छ ।
रुसले युक्रेनको सीमानामा एक लाखको संख्यामा अत्याधुनिक हातहतियारले सुसज्जित फौज तैनाथ गरेपछि पश्चिम जगत रसियाको सम्भावित आक्रमणलाई लिएर चिन्तित भएको हो । साथै त्यस्तो कुनै प्रतिकूल स्थिति सिर्जना भएको खण्डमा अमेरिका, नेटो र अन्य युरोपेली मुलुकले एक साथ सामना गर्ने अप्रत्यासित सहमति पनि स्थापित भइसकेको छ ।
अहिलेसम्म पनि रसियाले आफ्नो आक्रमण गर्ने रणनीति नभएको अडान दोहोर्याउँदै आएको छ । अमेरिकी राष्ट्र बाइडेनले बिहीबार युक्रेनका समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई टेलिफोन वार्ता गर्ने क्रममा रसियाले आगामी महिना हमला गर्ने चेतावनी दिएको ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता एमिली होर्नले बताएकी हुन् ।
जेलेन्स्कीले बाइडेनसँग समस्यामाथि हालै भएका कुटनीतिक प्रयासहरु र भावी संयुक्त कारवाहीका लागि भएको सहमतिबारे छलफल भएको बताएका छन् । तर, स्रोतहरुले दुई नेताबीच खतरा साँच्चै आउनै लागेको हो की होइन भन्नेबारे मत विभाजन भएको बताएका छन् ।
यसैबीच, बिहीबार नै अमेरिकाले यदि रसियाले युक्रेनमा आक्रमण गरेको खण्डमा पश्चिमी युरोपमा पेट्रोल आपूर्तिका लागि जाने प्रमुख रुसी पाइपलाइन बन्द गरिदिने धम्की पनि दिएको छ । बीबीसी