खातामा रकम नभएको चेक दिएर लाखौं ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । खातामा पर्याप्त रकम नभएको चेक दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका-९ घर भइ हाल काठमाडौंको सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक साविक बाह्रबिसे गाविस- ४ घर भई हाल तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी छन् ।
उनीहरुले आफ्नो नामको बैंक खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको प्रहरीले जनाएको छ ।
सो मुद्दामा उच्च अदालत पाटनबाट सुरज गुरुङलाई २४ दिन कैद र ७२ लाख जरिवाना ठहर भएको थियो भने सुमित भण्डारीलाई ५ दिन कैद र ९ लाख ७३ हजार जरिवाना हुने फैसला भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको छ ।