चोरिएका दुई मोटरसाइकल र चार स्कुटरसहित १८ वर्षीय किशोर पक्राउ
भक्तपुर । भक्तपुर प्रहरीले चोरिएका दुई मोटरसाइकल र चार स्कुटरसहित एक १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
रामेछापको भिरकोट खनियापानी स्थायी घर भई हाल काभ्रेका बनेपा नगरपालिका-१३ थापागाँउमा डेरा गरी बस्ने १८ वर्षीय छिरिङ घिसिङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनले राजधानी काठमाडौंसहितका ठाउँबाट विभिन्न समयमा मोटरसाईकल चोरी गरी बिक्री गरेको खुलेपछि पक्राउ गरिएको परिसरका डीएसपी राजु पाण्डेले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न ब्राण्डका दुई वटा मोटरसाइकल र चार वटा स्कुटरसहित उनलाई पक्राउ गरेको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।