ओलीलाई भीम रावलको जवाफ : म पार्टी सिद्धान्त अनुरुप उभिएको छु
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्त अनुरुप उभिएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली शर्माले दलीय निणर्य विपरीत रावलले संसदीय प्रक्रियामा भाग लिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
एमसीसीबारे धारणा सार्वजनिक कार्यक्रममा मंगलबार ओलीले रावलले पार्टीको सल्लाह विपरीत संसदीय प्रक्रियामा भाग लिएको, एमसीसी सम्झौताबारे अभिव्यक्ति दिएको भन्दै अनुशासनहीन क्रियाकलाप गरेको प्रतिक्रिया दिएका थिए । ओलीले रावल ‘हिरो’ बन्न खोजेको आरोप लगाएका थिए ।
अध्यक्ष ओलीलाई जवाफ दिँदै रावलले आफू पार्टी सिद्धान्त अनुरुप उभिएको र संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत भनेका छन् ।
‘एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ । संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो ,’ उनले ट्वीटमा लेखेका छन्,’ म पार्टी सिद्धान्त अनुरुप उभिएको छु ।’
पार्टीको सल्लाहकार परिषद् सदस्य समेत रहेका रावलले एमसीसीमाथि छलफलमा भाग लिएका थिए । उनले एमसीसी सम्झौता संविधान विपरीत रहेको बताउँदै पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताएका थिए । दलीय निणर्य विपरीत संसदीय प्रक्रियामा भाग लिएको भन्दै रावलप्रति ओली रुष्ट बनेका छन् ।